काठमाडौं । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह, फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै सीईओ शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण हो र महिलाहरुको आर्थिक विकासका लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।
हस्ताकक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकाश केन्द्र नेपालबीच पुलको काम गरेकोमा धन्यबाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकाससँगै देशको दिगो विकासमा ठूलो टेवा पुर्याउने बताए ।
वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले सीएनआईले गरेको एउटा पहल हो । स्थापना देखि ‘महिला नेतृत्व विकास’ को मूल नारा बोकेको महिला शक्ति विकाश केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभरी महिला सशक्तिकरण र महिला नेतृत्वको विकास सम्बन्धि कामहरु गर्दै आइरहेको छ ।
सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।
बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गर्दै आएको छ । यो सम्झौता मार्फत नबिलले दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।