कैलाली । कैलालीको टीकापुर नगरपालिका अन्य स्थानीय तहको भन्दा धेरै सार्वजनिक जग्गा भएको पालिका हुनुपर्छ । एक समुदाय एक खुला मैदान छ भने सडकको जग्गा पनि निकै फराकिलो छ । नेपालकै पुरानो योजनको सहरको रूपमा विकास भएको टीकापुर क्षेत्रमा खुला स्पेसको कमी छैन । तर, विडम्बना ती अधिकांश खुला मैदान र सडकका किनार वर्षौंदेखि अतिक्रमणमा छन् । विशेष गरी ठेकेदारका लागि ती खुला मैदान र सडकका किनार निकै उपयोगी बनेका छन् । बजार क्षेत्र मात्रै नभई ग्रामीण क्षेत्रका सार्वजनिक जग्गामा ठेकेदारले हैकम जमाउँदा पनि टीकापुर नगरपालिकाले कुनै प्रतिक्रिया दिन सकेको छैन ।
नगरपालिकाले लगानी गरेर निर्माण गरेको सिटी बसपार्क नगरपालिकाका लागि प्रयोगविहीन भए पनि कुनै ठेकेदारका लागि निकै उपयोगी बनेको छ । सिटी बसपार्कमा कतै बालुवाको थुप्रो देख्न सकिन्छ भने कतै ढुंगाको । राज्यको लाखांैं लगानी रहेका संरचना अलपत्र अवस्थामा रहँदा त्यसको फाइदा व्यक्तिले लिने गरेको स्थानीय बताउँछन् । सार्वजनिक जग्गा यसरी अतिक्रमणमा पार्नुभन्दा नगरपालिकाले निश्चित क्षेत्रमा निर्माण सामग्रीको भण्डारणका लागि ठेक्का प्रक्रियाबाट अगाडि बढेको भए नगरपालिकाको आन्तरिक आयको स्रोत थपिने उनीहरुको भनाइ रहेको छ । सिटी बसपार्क सञ्चालनमा आउने भएपछि ठूलो आशा बोकेका व्यापारी बसपार्क सञ्चालन नहुँदा व्यवसायबाट नै विस्थापित हुने अवस्था आएको बताउँछन् ।
सोही क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका करन पुरिले बसपार्क सञ्चालनमा आउला भनेरै व्यवसाय सुरु गरेको बताउँदै अहिले बसपार्क सञ्चालनमा नआउँदा भाडा तिर्न पनि मुस्किल हुने गरेको बताए । ‘बसपार्कलाई देखाएर घरधनीले भाडा महँगो बनाएका छन् । अहिले बसपार्क आएको छैन’, उनले भने, ‘बसपार्क निर्माण भएको क्षेत्रमा बालुवाको थुप्रो छ । हामी व्यापारी बसपार्क आउला र व्यापार गरौँला भन्दै पर्खेको पनि वर्ष पूरा हुँदा पनि बसपार्क सार्ने कुरामा कसैको ध्यान पुगेको छैन ।’
हुन त नगरपालिकाकी राजस्व शाखा प्रमुख दिला उपाध्याय रेग्मी नगरपालिका क्षेत्र भित्रको अधिकांश सार्वजनिक जग्गा ठेकेदारको कब्जामा भएको स्वीकार गर्छिन् । नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण सामग्री राखेको भन्दै थुप्रै गुनासा आएको जनाउँदै उनले त्यसको नियन्त्रणका लागि नगरपालिकाले तत्काल ‘एक्सन’ लिने बताइन् । ‘हामी कसले कहाँ कति जग्गा अतिक्रमण गरेर निर्माण सामग्री राखेको छ त्यसको जानकारी लिएर त्यो सामग्री त्यहाँबाट हटाउन पत्राचार गर्छौं’, उनले भनिन्, ‘हामीले भनेको समयमा निर्माण सामग्री नउठाएको अवस्थामा उक्त सामग्री नियन्त्रणमा लिने र अन्य कारबाहीसमेत गर्ने तयारी भइरहेको छ ।’
उनले सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मा नगरपालिकाको भएको जनाउँदै यसका लागि नगरपालिकाले रणनीति अपनाउने बताइन् । राजस्व शाखा प्रमुख रेग्मीले पटकपटक नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण सामग्री थुपार्ने कामलाई बन्द गर्न सूचना जारी गर्दा पनि त्यसको सुनुवाइ हुन नसकेको बताइन् । रासस