काठमाडाैं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ ।
कम्पनीले फोरजी एलटीई नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ । उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित उपभोक्तालाई सहज रूपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ ।
सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्र ।
फोरजी एलटीई वाइफाइमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र संस्थागत प्याकेज उपलब्ध गराइरहेको प्रवक्ता राजेश जोशीले जानकारी दिए । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड बेसिक ८०० रुपैयाँमा ६० जिबी ३० दिनका लागि उपलब्ध छ ।
त्यसैगरी एक वर्षका लागि ९ हजारमा ७२० जिबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिनेछ । यी दुवैमा एड अन प्याकको रूपमा ४०० रुपैयाँ मा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ ।
होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत १ हजार २०० मा १२० जिबी प्याक ३० दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी एक वर्षका लागि १३ हजार ५०० मा १ हजार ४४० जिबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रूपमा ६०० रुपैयाँमा १५ दिनका लागि १२० जिबी प्याक लिन सकिन्छ ।
सरकारी संस्था प्याकेजमा ३ हजार ६५० र २ हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेज उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिकरुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको व्यवस्था छ ।