काठमाडौं । बैंक तथा वित्तीय संस्थाले विगतमा असल ऋणी भनेर खासै ‘फलो–अप’ नगरेका ऋणीबाट धोका पाएका छन् । विगतदेखि नै गत असोजसम्म असल ऋणीमा वर्गीकृत ऋणीहरुले नै पुस मसान्तमा ऋणको सावाँ तथा ब्याज नबुझाएपछि बैंक तथा वित्तीय संस्थाहरु अप्ठ्यारोमा परेका छन् ।
बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने क्रम सुरु भएको छ । तर, उठ्नुपर्ने रकम समयमै नउठेपछि बैंकहरुको वित्तीय विवरण प्रभावित हुने देखिएको छ ।
बैंकरहरुका अनुसार पुसमा आशा गरिएका ऋणीहरुले औसतमा ६ अर्ब रुपैयाँभन्दा बढीको साँवा ब्याज बुझाएनन् । यसले बैंकहरुको वित्तीय विवरण (ब्यालेन्स सिट) मै धक्का दिएको बताउन थालिएको छ ।
‘असोजसम्म नियमित रुपमा सावाँ तथा ब्याज तिरिरहेका थिए’, एक बैंकरले भने, ‘तर, उनीहरुको व्यवसायमा शिथिलता आएकाले पुसमा प्राप्त हुनुपर्ने साँवा–ब्याज उठन सकेन ।’
अहिले औसतमा एउटा वाणिज्य बैंकको औसतमा २० करोड रुपैयाँभन्दा बढी सावाँ ब्याज नउठेको बैंकरहरुको बुझाइ छ । उनीहरुका अनुसार न्यूनतम १५ करोडदेखि ३० करोड रुपैयाँसम्म आशातीत ब्याज उठेको छैन ।
‘हेर्दा सानो अंक देखिए पनि वित्तीय विवरणमा केही न केही असर गर्छ’, ती बैंकरले भने ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तथा डेल्टा भाइरसबाट सर्वसाधारण आत्तिएका छन् । व्यवसायमा मन्दी छाएको छ । त्यसको प्रत्यक्ष असर व्यापारमा परेको छ । अर्कोतिर बजारमा लगानीयोग्य रकमको पनि चरम अभाव छ । विगतमा बैंकसँगै ऋण लिएर बैंकलाई नै किस्ता, सावाँ तथा ब्याज बुझाउने गरेका थिए । त्यसैबाट सरकारले पनि राजस्व पाउँथ्यो ।
तर, पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ कर्जा पाउने स्थिति नभएपछि व्यक्तिगत र सहकारीमार्फत ऋण लिनेको जमात बढेको छ । बाहिर पनि ऋण नपाएपछिको सीधा असर सावाँ तथा ब्याज असुलीमा परेको बैंकरहरु बताउँछन् ।
‘व्यवसाय बिग्रिएकाबाट यो अवस्थामा सावाँ तथा ब्याज उठ्छ भनेर सोचिएको थिएन’, एक बैंकरले भने, ‘असल ऋणी नै समस्यामा परेकाले असुली (रिकोभरी) मा समस्या भएको हो ।’
अर्कोतिर ऋणीहरुमा कोरोना कहरले बन्दाबन्दी वा निषेधाज्ञा भए केही समयका लागि ऋण तिर्नुपर्ने दबाब आउन नसक्ने आशय राखेर पनि ऋण नतिरेको हुन सक्ने अनुमान बैंकरहरुको छ ।
पुसमा बैंकहरुको रिकोभरी सोचेअनुरुप नभएकाले दोस्रो त्रैमासमा प्रकाशित हुने वित्तीय विवरणमा नाफाको हिस्सा खुम्चिने बैंकहरुको अनुमान छ ।
तर, अहिले नउठेको ब्याज तथा साँवा चैत मसान्तमा उठ्ने बैंकहरुको आँकलन छ ।