काठमाडौं । सुरुवाती साढे २ घण्टासम्म सुस्त देखिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पछिल्लो डेढ घण्टामा चम्किएको छ । यद्यपि, पछिल्लो एक घण्टामा भी सेप बनाउँदै आगामी साता आक्रामक वृद्धिको बाटो समाउने छनक दिएको छ ।
बुधबार २८९८ मा रोकिएको सूचक बिहीबार प्रि ओपनिङ कारोबारपछि घटेर १५ मिनेटकै २८८४ सम्म झरेको थियो । त्यसपछि भने बढ्ने र घट्नेक्रमलाई निरन्तरता दिँदै अघिल्लो न्यून बिन्दु नछोइकन उक्लिने परिवेश सिर्जना गर्यो । त्यसले सूचकलाई थप सशक्त बनाउन भूमिका खेलेको छ ।
साताको अन्तिम दिन बिहीबार जलविद्युत् कम्पनीहरूमा उछाल आउँदा त्यसले समग्र नेप्से सूचकलाइ नै उचाल्न पुगेको छ । बिहीबार कारोबार भएका २५ कम्पनीको सेयर मूल्य घट्दा १६० कम्पनीको मूल्यमा वृद्धि देखिएको छ ।
बिहीबार समग्रमा बुधबारको तुलनामा ३२.९६ अंकले बढेर २९३१.२६ अंकमा चढेको छ । मंगलबार १० अंक र बुधबार ३८ अंकको सामान्य करेन्सनपछिको सुधार हो । बढ्दो बजारमा सामान्य करेन्सन पछिको वृद्धिले आगामी दिनमा थप बजार बढ्छ भन्ने संकेत गर्छ ।
बिहीबार जलविद्युत् कम्पनीमध्ये मैलुङखोला र तेह्रथुम पावरले सकारात्मक सर्किट लगाएका छन् भने बुद्धभूमिको करिब १० प्रतिशत मूल्य बढ्दा न्यादीको करिब ९ प्रतिशत मूल्य बढेको छ । बिहीबारको कारोबार यो साताकै कम कारोबार हो । बिहीबार ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ । बजार बढ्दो ट्रेन्ड जाने संकेत पाएपछि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा सेयर किनबेचमा न्यूनता आएको हो ।
साताको पहिलो दिन आइतबार ९ अर्ब ६० करोडको कारोबार भएकोमा त्यसपछि भने मिश्रित कारोबार देखिएको छ । यसले पनि बजार बढ्ने संकेतलाई थप बल पुगेको छ ।
उता बढेको बजारमा पनि सबैभन्दा बढी बोटलर्स नेपाल तराईको १.८४ प्रतिशतले मूल्य घटेको छ । बिहीबार आईएमई जनरल इन्स्योरेन्सको सबैभन्दा बढी २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।