काठमाडौँ । नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ । एभरेस्ट हब्र्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्रान्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो ।
यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्टे«लिया, चीन निर्यात भैसकेको छ । नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्छ ।
जापानमा पहिलोपटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक विक्रम भण्डारीले नेपाल हिमालयको देश भएको र जापानीजलाई नेपालको हिमाल र यार्सागुम्बाको बारेमा थाहा भएका कारण पनि यो ब्रान्डलाई चिनाउन सजिलो भएको बताए ।
‘हामीले पहिलोपटक कोभिड महामारीकै बीच जापानमा निर्यात गरेको भएपनि जापान ल्याएको पहिलो हप्तामा नै यार्सागुम्बाबारे राम्रो प्रतिक्रिया प्राप्त भएको छ’ उनले भने, ‘यार्सागुम्बा अहिले जापानको टोकियो सहर आसपास मात्र उपलब्ध छ । हामीले जापानका मुख्य सहरका होटल, रिसोर्ट, क्लब, रेस्टुरेन्ट, बारलगायतमा यार्सागुम्बा पुराउने तयारी गरिरहेका छौं ।
अनलाइन अर्डर र सुपरमार्केटमा उपलब्ध गराउनका लागि पनि केही कम्पनीसँग कुराकानी भएको उनले बताए ।
लन्डनबाट एमबीए गरेका भण्डारी जापानमा व्यवसाय गर्दै आइरहेका छन् । जापानको होटल र रेष्टुरेन्टबारे राम्रो दख्खल राख्ने भण्डारीले छिटैं जापानका मुख्य सहरका प्रख्यात होटल र रेस्टुरेन्टमा यार्सागुम्बा उपलब्ध हुने बताए ।
यार्सागुम्बालाई कम्पनीले वेभरेजको रुपमा प्रचार गर्दै आइरहेको छ । यार्सागुम्बामा ९ प्रकारका दुर्लभ जडिबुटी मिश्रण गरिएको कम्पनी जनाएको छ । स्वाथ्यका लागि औषधीको गुणसमेत रहेको कम्पनीको दाबी छ ।