काठमाडौं । कोभिड–१९ संक्रमणका बेला नेपालमा जारी लकडाउनको समयमा नेपालमा अलपत्र परेका आफ्नो देशका नागरिकहरुको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै बुधबार नेपालस्थित अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ ।
दूतावासको टाउन हलमा आयोजित भर्चुअल कार्यक्रममा बुधबार दूतावासले बोर्डलाई सम्मान गरेको हो । कठिन समयमा बोर्डले उद्धार उडानमार्फत (रिपाट्रिएसन फ्लाइट) आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र उक्त कार्यको अमेरिकी जनता र दूतावासले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै बोर्डलाई सम्मान प्रदान गरिएको दूतावासले जनाएको छ ।
नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले नेपाल र अमेरिकाबीच लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधैं सहयोग गर्ने समेत बताए ।
अमेरिकन सिटिजन सर्भिसका चिफ डेमार्कले कोभिड १९ को समयमा बोर्डले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै त्यसका लागि अमेरिकन नागरिकको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिडको समयमा नेपालले गरेका कायबाट बोर्डले सम्मान पाउनु नेपाली पर्यटन क्षेत्रको लागि खुसीको कुरा भएको बताए । विभिन्न निकायको सहयोग र समन्वयले मात्र बोर्डले यो सम्मान पाएको उल्लेख गरे ।
‘त्यो समय सम्पूर्ण विश्वकै लागि कठिन समय थियो । आ–आफ्नो देशमा छरिएर रहका पर्यटकलाई सुरक्षित रुपमा स्वदेश फर्काउनु हाम्रा लागि पनि चुनौती थियो । यद्यपि सबैको सहयोग र समन्वयले त्यो काम गर्न सफल भयौं । जसले हामीलाई यो सम्मान र बेलायतमा ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्डसमेत प्राप्त गर्न सक्यौं’ उनले भने ।
सन् २०१९ बाट विश्वव्यापी रुपमा सुरु भएको कोभिड–१९ ले नेपालमा सन् २०२०–२०२१ मा बढी प्रभाव पारेको सो समयमा नेपाल पर्यटन बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा यस्तै बोर्डले नेपालस्थित विभिन्न कूटनीतिक नियोगसँगको समन्यवमा रिपाट्रिएसन फ्लाइटमार्फत करिब ५ हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।
बोर्डले विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै यस अघि सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) कै अवसरमा नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्डसमेत प्राप्त गरेको थियो ।
विश्वचर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई उक्त अवार्ड प्रदान गरेको थियो ।