नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा रहेको धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु भएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणको काम सुरु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी १ वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो ।
“मौलाकाली केबुलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ”, ढकालले भने, “अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ ।” केबुलकार निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै उनले बढीमा १ वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताए ।
“केबुलकारसँगै निर्माण हुने होटलका लागि केही समय लाग्न सक्छ तर आगामी पुस महिनाभित्र केबुलकार सञ्चालनमा ल्याइसक्छौँ”, ढकालले भने, “अब आउने माघे सङ्क्रान्तिमा केबुलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइन्छ ।” ढकालको कम्पनीले गैंडाकोटमा केबुलकारसँगै होटलसमेत सञ्चालनमा ल्याउनेछ ।
मौलाकाली केबुलकार कम्पनीले करिब १ अर्ब ५० करोड रुपैयाँ लागतमा आयोजना अगाडि बढाएको हो । निर्माण सम्पन्नपछि सर्वसाधारणका लागि समेत सेयर निस्कासन गर्ने योजना रहेको उनले सुनाए ।
“केबुलकार निर्माणका लागि सबै फर्मालिटी सकिसकेका छौँ, फर्मालिटीका लागि धेरै समय लाग्ने गर्दथ्यो”, ढकालले भने, “होटलसहितको सम्पूर्ण संरचना तयार गर्नका लागि भने बढीमा दुई वर्ष लाग्ने हाम्रो अनुमान छ ।”
टपस्टेसनमा कन्स्ट्रक्सन निर्माणका लागि नापजाँचको काम भइरहेको छ । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबुलकारको टपस्टेसन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेसन हुने ढकालले जानकारी दिए।
केबुलकारले एकतर्फि लम्बाइ एक हजार २०० मिटर लामो हुनेछ । केबुलकारमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उनले बताए । केबुलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकालिका मन्दिर पुग्ने ढकालको भनाइ छ ।
अहिले मन्दिर पुग्न करिब एक हजार ८८२ खुड्किलो उक्लिँदा ४५ मिनेट समय लाग्ने गरेको छ । केबुलकार सञ्चालनमा आएपछि यहाँको पर्यटकीय क्षेत्रमा हरेकतर्फबाट टेवा पुग्ने उनको भनाइ छ । रासस