काठमाडौं । न्यूरोडका राधेश्याम श्रेष्ठ (नाम परिवर्तन)ले बैंकबाट ५० करोड रुपैयाँ लिएर व्यवसाय गरेको तीन वर्ष पुग्यो । उनको न्यूरोडमा कपडा पसल छ भने काठमाडौंका विभिन्न ठाउँमा स–सानो व्यापार गरिरहेका थिए ।
कोरोना कहर सुरु हुनुभन्दा एक वर्ष पहिला व्यापार गर्न थालेका उनलाई पछिल्लो वर्षको महामारी निकै थल्यायो । तैपनि उनले जेनतेन व्यापारबाट जोहो गरेको रकम निकालेर बैंकको ब्याज तिरे ।
त्यसपछिका वर्षमा भने उनको व्यापारमा निरन्तर गिरावट मात्रै आएको छैन्, कर्मचारीलाई समयमै तलब दिन सकससँगै बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज तिर्नसमेत मिटर ब्याजको सहारा लिएका छन् ।
बैंकबाट लिएको ऋण ५० करोड रुपैयाँ हो । तर, मिटर ब्याजमै उनले ३० करोड रुपैयाँ भन्दा बढी ऋण लिइसकेका छन् । मिटर ब्याज ३० प्रतिशत माथि छ । तैपनि उनले इज्जत जोगाउन महँगो ब्याजदरमै भए पनि ऋण लिएर बैंकलाई ब्याज र सरकारलाई कर बुझाइरहेका छन् ।
उनले विभिन्न मितिमा सहकारी संस्थाबाट ३० करोड रुपैयाँ लिइसकेका छन् । त्यसको ब्याज २४ प्रतिशत माथि छ । त्यसबाहेक उनले विभिन्न व्यक्तिसँग झण्डै १० करोड रुपैयाँ लिएका छन् । त्यसको ब्याज बार्षिक रुपमा २ करोड रुपैयाँ लाग्छ । तर, आजसम्म उनले आफ्ना इष्टमित्रबाट लिएको १० करोड रुपैयाँ अहिलेसम्म ब्याज बुझाएका छन् ।
यो त एउटा उदाहरण मात्र हो । मिटरब्याज कारोबारलाई कानुनले बर्जित गरेको छ । तर पनि समस्या समधान गर्न धेरै व्यवसायीले महंगो भए पनि मिटरब्याजबाट पैसा लिइरहेका छन् । मिटर ब्याज गैरकानुनी भएकाले व्यापारीहरु यस विषयमा खुल्न चाहाँदैनन् ।
व्यापारमा शिथिलता आए पनि समयमै बैंकको ब्याज, सरकारलाई कर र कर्मचारीलाई तलब दिन व्यापारीले अनेकन उपाय लगाइरहेका छन् । बैंकको ब्याज र सरकारको राजस्व तिर्न धेरै व्यापारीले मिटर ब्याजमा ऋण लिएको पाइएको छ ।
असोजसम्म असल ऋणीमा गनिएका व्यापारीले पुस मसान्तको गर्जो टार्नसमेत मिटर ब्याजमा ऋण लिएको व्यवसायीको भनाई छ ।
व्यापारको अवस्था नाजुक बनेको छ । तैपनि बैंकमा खराब रेकर्ड रहन्छ भन्ने चिन्ताले उनीहरुले महँगो ब्याजमा ऋण लिएर इज्जत जोगाउन प्रयास गरेको व्यापारीहरुको भनाइ छ ।
संकटमा परेका व्यापारीले आफ्नै व्यापारी साथीबाट महँगो ब्याजमा ऋण लिएर बैंकलाई साँवा ब्याज बुझाएका छन् । खासगरी, मदिरा व्यापारीहरु गम्भीर संकटमा परेका छन् । तीन वर्षदेखि मदिराको व्यापारमा मन्दी छाएको छ । ठूलो लगानी गरेर व्यवसाय गरेका छन् । उनीहरुको व्यापारको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ ।
ग्रिनलाइनका सञ्चालकहरुले पनि मिटर ब्याजमै ऋण खोजेर असारसम्म बैंकको ब्याज र सरकारलाई कर बुझाएका थिए । तीन वर्षदेखि उनीहरुको व्यापारमा मन्दी छाएको थियो । त्यसपछि उनीहरुले मिटर ब्याजरमा ऋण खोरेर बैंकसँग गाँसिएको आफ्नो इज्जत जोगाउने प्रयास गरेका थिए ।
तर, कालान्तरमा उनीहरुको व्यापार नसुध्रिएपछि बाध्य भएर व्यवसायबाट पलायन हुन पुगे । उनीहरुको जस्तै पीडा धेरै व्यवसायीले महशुस गरेका छन् । अहिले धेरैले त्यसैगरी मिटरब्याजमा ऋण खोजेर इज्जत जोगाइरहेका छन् । बैंकहरुले समस्यामा परेकालाई सहजीकरण नगर्ने हो भने अन्य धेरै व्यवसायी पुनः सडकमा आउने अवस्था भएको बैंकरहरु बताउँछन् ।