काठमाडौं । लामो समयको प्रतिक्षापछि रोजगारीका लागि नेपाली श्रमिकहरु इजरायल उडेका छन् । केयर गिभरका लागि १२५ जना जाने तयार भए पनि २६ जनालाई कोभिड पोजेटिभ देखिएपछि ९९ जना मात्र त्यसतर्फ उडेका हुन् ।
एयर अरेबिया मार्फत सी लिंक होलिडेजले उनिहरुलाई इजरालयमा लैजाने जिम्मा पाएको छ । रोजगारीमा जान अन्तिम छनोटमा १ हजार १७५ कामदार छनोट भएका छन ।
इजरायल रोजगारीमा रोजगारदाता र श्रमिकबीच पहिलोपटक एक वर्षका लागि सम्झौता हुनेछ । तर, रोजगारदाताले चाहेमा पाँच वर्षसम्मका लागि गर्न सक्नेछ । तर, पाँच वर्षपछि भने कामदार अनिवार्य रूपमा नेपाल फर्कनुपर्नेछ ।
इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए)ले १ हजार १७५ जना कामदारलाई छनोट गरेको छ ।
केयर गिभरका लागि इजरायल जाने नेपाली कामदार मासिक पारिश्रमिक करिब पौने दुई लाख पाउनेछन । वैदेशिक रोजगार विभागका अनुसार नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन ।
इजरायलको सरकारले तोकेअनुसार कामदारले मासिक १ लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) पारिश्रमिक पाउनेछन । कामदारले हप्ताको ४२ घन्टा काम गर्नुपर्नेछ ।
विभागले गत भदौ २८ गते लिएको पहिलो चरणको लिखित परीक्षामा ६ हजार ३९७ उपस्थित भएका थिए । भाषा परीक्षाबाट १ हजार ३९५ महिला र ६४४ पुरुष गरी कुल २ हजार ३९ उत्तीर्ण भएका थिए ।
भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये १ हजार ८०३ अन्तर्वार्तामा सहभागी भएका थिए । जसबाट १ हजार १२० महिला र ४८० पुरुष गरी कुल १ हजार ६०० जना छनोट भएका थिए ।