काठमाडौं । कोभिडको पहिलो र दोस्रो लहर आउदा सरकारले बन्दाबन्दी (लकडाउन) गरेको थियो । अहिले कोभिड संक्रमितको संख्या दैनिक ११ हजार कटिसक्दा पनि सरकारले लकडाउन गरेको छैन् । तर, सरकारले स्वास्थ्य मापदण्डलाई भने कडाई गर्दै लगेको छ ।
स्वास्थ्य मापदण्डलाई कडाई गर्दै लकडाउन नगर्न निजी क्षेत्रले पनि सरकारलाई सुझाव दिँदै आएको छ । सरकारले पनि अहिले तत्कालै लकडाउन नगर्ने र सार्वजनिक स्थलमा भिडभाड कम गर्ने नीति अघि सारिरहेको बेला रेष्टुराँ क्षेत्रमा पनि कोभिडको प्रत्यक्ष असर पर्न थालेको छ ।
कोभिडको संक्रमण तिव्र गतिमा बढेसँगै रेष्टुराँमा आउने ग्राहकको संख्या ह्वात्तै घटेको व्यवसायीहरुको भनाई छ । कोरोनाको पहिलो र दोस्रो लहरमा सरकारले लकडाउन गरेर ग्राहकहरु घरभित्रै थुनिए पनि अहिले भने रेष्टुराँहरु खुल्लै रहँदा पनि अवस्था सुनसान बनेको नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले बताए ।
तिव्र गतिमा फैलिएको संक्रमणको त्रासले ग्राहकहरु घर भित्रै बसेको र रेष्टुराँमा आउनेको संख्या घटेको उनको भनाई छ । रेष्टुराँहरुमा स्वास्थ्य मापदण्ड पुरा गरिरहेको बेला पनि ग्राहकरुलाई सुरक्षित आभास गराउन नसकिएको उनको भनाई छ ।
पछिल्लो समय रेष्टुराँका कर्मचारीहरु पनि कोभिडको संक्रमणबाट विरामी भएका छन् । त्यसले पनि कति ग्राहकहरुलाई मनोसामाजिक असर परेको हुनसक्ने व्यवसायीहरुको भनाई छ ।
सरकारले माघ १५ गतेसम्मका लागि रात्रिकालिन व्यवसायहरु बन्द गरेको छ । विस्तारै लयमा फर्किन लागेको रात्रिकालिन व्यवसायहरु बन्द भएपछि व्यवसायीहरु मारमा परेका छन् ।
यता रेष्टुराँहरुमा भने ग्राहकको संख्या घट्दै गएको द बर्गर हाउस नयाँ बानेश्वरका सञ्चालक विष्णु पाख्रिनको भनाई छ । ‘ग्राहक आउदै नआएका भने हैन, सञ्चालक पाख्रिनले भने, केही साता अघिको तुलनामा कमि आएको छ’ ।
पछिल्लो समय सरकारले कलेज र विद्यालयहरु बन्द गरेकोले पनि कतिपय विद्यार्थीहरु घरमा गएको हुँदा त्यसको प्रभाव रेष्टुराँ व्यवसायमा परेको उनले बताए । रेष्टुराँमा आउनेहरु मध्ये पारिवारीक र साथीभाइहरुको समूह नै हो ।
तर, अहिले विद्यालय र कलेज बन्द भएकोले उनिहरु घर गएको हुन सक्ने र पारिवारीक रुपमा रेष्टुराँमा गएर खाना र खाजा खानका लागि कोभिडको त्रास बढेकोले समस्या भएको उनको उनको भनाई छ ।
त्यसो त अहिले बाहिर घुम्न निस्कनेहरुको संख्या पनि क्रमिक रुपमा घट्दै गएको छ । अहिले सरकारले रेष्टुराँ,होटल,सार्वजनिक स्थल र कार्यालयहरुमा जादा खोप कार्ड अनिवार्य गरेको छ । खोप कार्ड अनिवार्य गरेकोले पनि रेष्टुराँ क्षेत्रमा असर परेको हुन सक्ने बताइएको छ ।
काठमाडौं उपत्यका भित्र सबैभन्दा बढी ग्राहकहरु जाने बर्गर हाउस, हिमालयन जाभा, केफसी, बाजेको सेकुवा,पेपे पिजा लगाएतमा अहिले ग्राहकको संख्या घटेको छ ।