काठमाडौं । साताको चौथो दिन सेयर बजार सूचक ३८.३५ अंकले घटेर २८९८.३१ अंकमा रोकिएको छ । ८ दिन निरन्तर बढेको बजार मंगलबार १० अंकले घटेको थियो ।
बुधबार पनि घट्दो ट्रेनलाई पच्छाएर बजार बन्द भएको छ । खासगरी सूचीकृत कम्पनीहरुको वित्तीय विवरण तुलनात्मक रुपमा कमजोर आउने आंकलन भएको असर बजारमा देखिएको हो ।
यति मात्र हैन कमजोर वित्तीय विवरण आउने अनुमानसँगै लगानीकर्ताहरुले तीव्र नाफा बुक गर्न खोजेका थिए । जसको असर मंगलबार र बुधबारको सेयर बजारमा परेको छ ।
३ हजार नजिक पुगेको सूचकले लगानीकर्ताको मनोभाव नकारात्मक बनाएपछि बजार सूचक तल झरेको हो । मंगलबार २९३६ अंकमा रोकिएको सूचक बुधबार सुरुमै बढेर २९५२ अंकमा पुगे पनि त्यसले स्थिरता पाउन सकेन र बजार ओरालो लाग्यो ।
पटक-पटकको उक्लिने प्रयासलाई झन् दबाब दिँदै रफ्तारमा बजार घट्दै २८९० सम्म पुगे पनि अन्तिममा न्यून बिन्दबाट ८ अंक माथिनै बजार बन्द भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रवृत्ति कारोबार रकमका आधार र लगानीकर्ताको मनोभाव हेर्दा बिहीबार बजार केही स्थिर रहने संभावना छ । यद्यपि बजार अझै घट्छ भन्ने मनोभावले काम गरेन भने नकारात्मक पाटो पछ्याउन सक्छ ।
बुधबार १६५ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा त्यसको असर नेप्सेमा परेको हो । यद्यपि सबैभन्दा बढी सेयर मूल्य घट्ने सूचीमा रहेको घलेम्दी हाइड्रोको मूल्य ४.३४ प्रतिशतले घटेको छ ।
घट्दो बजारमा पनि २० कम्पनीका सेयरधनीहरुले भने कमाएका छन् । सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावरको ९.९७ प्रतिशत बढेको छ । बुधबार ६ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन यो साताकै कम हो । मंगलबार ८ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ७ अर्ब ८६ करोड रुपैयाँको भएको थियो ।
बुधबार पनि अपी पावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । अपीको २० करोड ३२ लाखको सेयर किनबेच हुँदा अरुणभ्यालीको २० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।