एजेन्सी । सञ्चालन गर्न नसकेपछि भारत सरकारले राष्ट्रिय ध्वजावहाक एयर इन्डिया लिमिटेड टाटा ग्रुपलाई बिक्री गर्यो । सरकारले एयर इन्डियालाई बिक्री गरेपछि भारतमा वायुसेवामा निजी क्षेत्रको एकाधिकार भएको छ ।
सरकारले एयर इन्डिया टाटा सन्सलाई बिक्री गरेकै बेला निजी लगानीमा नयाँ विमान कम्पनीले सेवा सुरु गर्न लागेको छ । भारतीय उड्डयन क्षेत्रका ‘भेटरान’ विनय दुबेले सेयर लगानीकर्ता राकेश झुनझुनवालाको साझेदारीमा अकाशा एयर सञ्चालनमा ल्याएका हुन ।
एयरलाइन्समा राकेशको ४० प्रतिशत स्वामित्व रहने छ । उनको अकाशले यहीँ ग्रीष्मयामदेखि उडान थाल्ने भएको छ ।
गत साता इकोनोमिक टाइम्ससँगको एउटा अन्तर्वार्तामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयले अकाशाको विमान ‘अल्ट्रा लो कस्ट केरियर’ हुने बताएका थिए । सोही अन्तर्वार्तामा सीईओ दुबेले एयरलाइन्सको तत्कालीन योजनासहित ग्रीष्मयाममा हुने लन्च र कम्पनीको वित्तीय पक्षहरूका बारेमा समेत खुलासा गरेका छन् ।
अकाशा एयरलाइन्सले बोइङसँग यसअघि नै ७२ वटा जहाज ल्याउन सम्झौतामा हस्ताक्षर गरिसकेको छ । अबको केही महिनाभित्रै बोइङले अकाशालाई आफ्नो पहिलो विमान म्याक्स ७३७ सिरिज डेलिभर गर्ने भएको छ । नयाँ विमान आएपछि अकाशाले उडान थाल्ने भएको छ ।
अकाशाले नियामकबाट सम्पूर्ण अनुमति पूरा गरी जहाज उडान थाल्नेछ । कम्पनीले अर्को वर्षमा १५ भन्दा धेरै म्याक्स विमान थप्ने योजनासमेत बनाएको छ ।
उडान तयारीका लागि हाल अकाशाको व्यवस्थापन विभिन्न सरोकारवालाहरूसँगको छलफलमा व्यस्त छ । एयरलाइन्सले कुन सहरलाई आफ्नो केन्द्र (हब) बनाउने भन्नेमा हालसम्म निक्र्योल भइसकेको छैन । तर, व्यवस्थापनले भने स्लट, पार्किङ बे तथा काउन्टरका लागि अहिले सबै महत्वपूर्ण विमानस्थलहरूसँग वार्ता गरिरहेको छ ।
अकाशाले हवाई सञ्चालन प्रमाणपत्र (अप्रुभल) पाउन बाँकी छ । यस्तै पहिलो केही रुटहरू निर्धारण हुन अझै बाँकी नै छ ।
हालसम्मको प्रगतिबाट आफू एकदमै सकारात्मक भएको सीईओ दुबे बताउँछन् । ‘एयरलाइन्सको ४० प्रतिशत विमान मर्मत र अर्को ४० प्रतिशत इन्धनमा खर्च हुन्छ । यसैगरी विमान उडानको पहिलो दिनदेखि नै इन्जिनलाई राम्रोसँग मर्मत सम्मार गर्न महत्वपूर्ण छ । त्यो हामीले यसअघि नै गरेका छौं । यसैले हाम्रो सुरुवातदेखि नै एकदमै सन्तुष्ट छौं’, दुबेले भने ।
सानो मार्जिनसहितको नवप्रवर्तन (स्टार्टअप) कम्पनी भएको कारण अकाशालाई चालू पुँजीको आवश्यकता पर्छ । तर, अहिले एयरलाइन्स क्षेत्रका ठूला लगानीकर्ता झुनझुनवालाले अकाशालाई विभिन्न तरिकाबाट सहयोग गरिरहेको छन् ।
उनले प्रारम्भिक पुँजी लगानी गर्नुका साथै अकाशा एयरलाइन्सले अनुमोदन गरेका कारण अन्य ठूला लगानीकर्ताको पनि उक्त भेन्चरप्रति विश्वास जागृत भएको छ ।
दुबेका अनुसार अकाशाले उडान सुरु गर्दा अन्य केरियरहरूसँग मूल्यमा प्रतिस्पर्धा गर्ने छैन । हालका लागि अकाशा आर्थिक रूपमा पूर्ण सशक्त भए पनि भविष्यका लागि भने थप लगानी जुटाउन आवश्यक रहेको दुबे बताउँछन् ।
भारतमा एयर इन्डियाका साथै इन्डिगो, जेट, स्पाइस जेटलगायत आधा दर्जन वायुसेवाले उडान गरिरहेका छन् । लिकर ब्यारोन विजया माल्याको किङफिसर एयर भने बन्द छ ।
यो पनि हेर्नुहोस
सेयर बादशाह राकेश झुनझुनवाला एभियसन बिजनेसमा, आकाशाले किन्यो ७२ वटा बोइङ