काठमाडौं । कृषि क्षेत्रमा काम गर्ने नयाँ सोच छ र तपाईं प्रदेश नम्बर १ को बासिन्दा हुनुहुन्छ भने सोचलाई सफल बनाउन नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) ले तपाईंको सपना पुरा गरिदिने भएको छ ।
आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहजले प्रदेश नम्बर १ का नवीनतम सोच भएका कृषकहरुसँग काम गर्ने भएको छ । सहजले प्रदेश १ को कृषि बजारमा ढुवानीका लागि कम्पनीलाई योजना पेस गर्न आग्रह गरेको हो ।
मंगलबार भर्चुअल पत्रकार सम्मेलन गर्दै सहजले नयाँ आइडियासहितको आवेदन खुला गरेको हो । मंगलबारदेखि १ महिनासम्मका लागि आवेदन खुला गरिएको फाइनान्स एक्सपर्ट ब्रजेश मल्ले जानकारी दिए ।
उनले एक करोड ९५ लाख बराबरको बजेटको आवेदन माग गरेको बताए । निजी क्षेत्र, सहकारीहरुले यसमा आवेदन दिन सक्ने भन्दै बढीमा ५० लाखसम्मको सहयोग दिन सक्ने जनाएको छ । सहज च्यालेन्ज फन्डमा फागुन ६ गतेसम्म आवेदन खुल्ला रहने कम्पनीले जनाएको छ।
सहजकी रिमा श्रेष्ठले नेपाल सरकार र स्विस सरकारको संयुक्त प्रयासमा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिइन् । प्रदेश १ मा मात्र यसले काम थालेको बताउँदै आपूर्ति शृंखला तथा ढुवानीमा नयाँ सोच भएकाबाट आवेदन आह्वान गरेको उनको भनाइ छ ।
कृषकको उत्पादनलाई बजारसम्म पुर्याउन नै सहज च्यालेन्ज फन्ड आएको हो । सहज च्यालेन्ज फन्ड आयोजनाका लागि पूर्वाञ्चल विश्वविद्यालयले सहयोग गर्ने विश्वविद्यालयका डिन बिजु थपलियाको भनाइ छ । यसमा दूध तथा तरकारी बजारसम्म कसरी ल्याउने भन्ने कुरा आवेदनमा माग गरिएको बताए ।
मोरङ व्यापार संघका उपाध्यक्ष नवीन रिजालले कृषकले उत्पादन गरेको सामाग्रीलाई बजारसम्म ल्याउन नसकेकै कारण समस्या भोग्दै आइरहेका बेला यस खालको नयाँ आइडियाले कृषकलाई ठूलो राहत मिल्ने बताए ।
प्रदेश १ मा उत्पादन हुने सुन्तला, अल्लोजस्ता विषयमा समेत प्रचार आवश्यक रहेको उनले बताए ।
आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले सप्लाई चेनमा काम गर्न नयाँ खालको योजना आवश्यक रहेकाले त्यसलाई समाधान गर्न आइडिया स्टुडियो लागिपरेको जानकारी दिए ।
‘सहजसँग आइडिया स्टुडियो जोड्न पाएकोमा एकदम खुसी लागेको छ’, डा. लामाले भने, ‘किसान र उपभोक्तबीचको सप्लाई चेनमा धेरैले काम गर्न खोज्नुभएको छ’ ।
यस्तै उनले प्रदेश १ होस् या अन्यमा, योजना पठाउन सकिने बताए ।
ढुवानी प्रोजेक्टमा आउने योजनामा सहयोग गर्न सरकार तयार रहेको प्रदेश १ का भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयका सचिव रामनारायण तिवारीले बताए। सचिव तिवारीले ढुवानीको समस्या समधानका लागि मन्त्रालयले पनि सहजीकरण गर्ने प्रतिबद्धता गरे ।