काठमाडौं । लगातार ८ दिनसम्म बढेकाे सेयर बजार सूचक ९ औं दिनकाे काराेबारमा सामान्य ‘करेक्सन’ आएको छ ।
सोमबार २९४७ मा रोकिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार कारोबार खुलेको ४ मिनटमै २९६५ सम्म चढेको थियो ।
त्यसपछि अधिक घट्ने र कम बढ्ने संकेत देखाएको बजार सूचकले मध्य समयमा मंगलबारकै उच्च झन्डै २९८२ अंकसम्म चढेको थियो । तर, बढेको बजारले निरन्तरता पाउन सकेन । र बजार घट्दो ट्रेन्डमा अघि बढ्यो । यद्यपि, बीचमा सामान्य सुधारको गुन्जायस देखाए पनि बजार सूचक २९१५ सम्म झर्यो ।
यसले दिनभर बजार सूचकमा ७७ अंकको उतारचढाव देखाए पनि मंगलबार बजार बन्द हुँदा सोमबारको तुलनामा १०.७८ अंकले घटेर २९३६.६६ बिन्दूमा रोकिएको छ ।
मंगलबार धेरै कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा सीमित कम्पनीहरूको मात्रै मूल्य बढेको छ । सबैभन्दा बढी मूल्य घटेको मानुषी लघुवित्तको सेयर मूल्य ५ प्रतिशले मूल्य घटेको सहित १४१ कम्पनीमा गिरावट आएको छ । उता, ४५ कम्पनीको मात्रै सेयर मूल्य बढेको दिन सामालिङ पावरको सबैभन्दा धेरै ९.४९ प्रतिशतले मूल्य बढेको छ ।
तीव्र उतारचढावका बीच मंगलबार सेयर कारोबार रकममा सामान्य सुधार देखिएको छ । यो कारोबार गत आइतबारको भन्दा कम हो । आइतबार ९ अर्ब ६० करोड माथि कारोबार भएकोमा सोमबार ७ अर्ब ८६ र मंगलबार ८ अर्ब ३६ करोडको सेयर किनबेच भएको छ । मंगलबार पनि अपी पावरमै लगानीकर्ता झुमिएका छन् । अपीको २८११ लाखको सेयर किनबेच हुँदा अरुण भ्यालीको २५७१ लाख र नेपाल टेलिकमको २५१९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
९ दिनअघि २६४९ बिन्दुमा रहेको सूचक मंगलबारसम्म आइपुग्दा ३३३ अंकको वृद्धि भएकोमा लगानीकर्ताहरूले तीव्र नाफा बुक गर्ने होड चलाउँदा मंगलबार बजार घट्न पुगेको छ ।
नेप्से कारोबार प्रवृत्ति र लगानीकर्ताको मनोविज्ञान हेर्दा बुधबार पनि केही करेक्सन आउने आँकलन गर्न सकिन्छ । तर, कोरोना महामारीको बढ्दो चक्रले लगानीका अन्य क्षेत्र खुम्चिएको, सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेको, तरलता केही सहज भएको जस्ता कारणले बजार धेरै झर्ने स्थिति नहुन सक्छ । यद्यपि मौका कुरेर बसेका लगानीकर्ता बजार घटाउन अनेकन फन्डा खोजिरहेका छन् । यस्तोमा लगानीकर्ता सचेततापूर्वक आफ्नो कारोबार गर्नु हितकर हुन्छ ।