काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ, एनआईसी एसिया । बैंकले पहिलो ४ महिनामा पनि वाणिज्य बैंकहरुमध्ये सबभन्दा बढी १ अर्ब ५९ करोड नाफा कमाएको थियो । यस्तै मंसिरमा थप २५ प्रतिशत नाफा थप गर्दै २ अर्ब पुर्याएको छ ।
ग्लोबल आईएमई बैंकले नबिल बैंकलाई उछिन्दै धेरै नाफा कमाउनेमध्ये दोस्रो बैंक बनेको छ । कात्तिकसम्ममा १ अर्ब ५५ करोड ११ लाख रुपैयाँ नाफा गरेको ग्लोबलले मंसिरमा भने २६ प्रतिशतले नाफा थप गर्दै १ अर्ब ९६ करोड कमाएको छ ।
नबिलले कार्तिकसम्ममा १ अर्ब ५५ करोड ६१ लाख रुपैयाँ कमाएको थियो । मंसिरमा २२ प्रतिशत नाफा थप्दै १ अर्ब ८९ करोड पुर्याएको छ । मंसिरमा ग्लोबलले ४१ करोड नाफा थपिरहँदा नबिलले भने ३३ करोड नाफा थपी तेस्रो स्थानमा झरेको हो । ेयस्तै नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड नाफा कमाएको छ ।
यसैगरी प्राइम बैंकले १ अर्ब ५० करोड, प्रभुले १ अर्ब ३७ करोड, एनएमबिले १ अर्ब ३६ करोड नाफा कमाएका छन् । यस्तै मेघा बैंकले १ अर्ब २६ करोड, सिद्धार्थ बैंकले १ अर्ब ३३, नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ३३ करोड र नेपाल बंगलादेश बैंकले १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएका छन् ।
सिटिजन्स बैंकले ९९ करोड ६० लाख, स्टान्डर्ड चार्डड बैंकले ९० करोड ३१ लाख ,माछापुच्छ्रे बैंकले ८७ करोड ८९ लाख, कुमारी बैंकले ८६ करोड ९० लाख, सानिमा बैंकले ८६ करोड ४१ लाख ,लक्ष्मी बैंकले ७८ करोड ८१ लाख नाफा कमाएका छन् ।
यसबाहेक एभरेस्ट बैंकले ७५ करोड ९३ लाख नाफा कमाएको छ भने एनसीसी बैंकले ७५ करोड ५६ लाख, करोड, कृषि विकास बैंकले ६५ करोड, सनराइज बैंकले ७० करोड ३७ लाख र नेपाल एसबीआई बैंकले ६५ करोड ९५ लाख, हिमालन बैंकले ५६ करोड १० नाफा कमाएका छन् ।
चालू आर्थिक वर्षको ५ महिना ५० करोडभन्दा कम नाफा कमाउने बैंकमा सेन्चुरी बैंक, बैंक अफ काठमान्डु र सिभिल बैंक रहेका छन् । यस अवधिमा सेन्चुरी बैंकले सबैभन्दा कम नाफा कमाएको छ । सेन्चुरीले ४० करोड २५ लाख, बैंक अफ काठमान्डुले ४९ करोड ५९ लाख र सिभिल बैंकले ४१ करोड ११ लाख रुपैयाँ कमाएका छन् ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २७ वाणिज्य बैंकले २८ अर्ब २० करोड रुपैयाँ नाफा गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंसिर महिनामा मात्रै वाणिज्य बैंकहरुले ४ अर्ब ६७ करोड थप नाफा आर्जन गरेका छन् । कात्तिकसम्म बैंकहरुले २३ अर्ब ५३ करोड नाफा गरेका थिए ।