काठमाडौं । दुई पूर्वप्रधानमन्त्रीहरूको व्यक्तिगत स्वार्थका कारण मदन भण्डारी राजमार्गको काममा अवरोध आएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले झापा–धरान खण्डको २५ किलोमिटर सडकमार्ग (एलाइनमेन्ट) परिवर्तन गर्न निवेदन दिएपछि निर्माणमा अवरोध आएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा झापाको बाहुनडाँगीदेखि बुद्धशान्ति चोक क्षेत्रको सडकमार्ग परिवर्तन मन्त्रिपरिषदबाट पास गराएका थिए । सोही समयमा पूर्वप्रधामन्त्री एवं नेकपा एकिकृत समाजवादीका नेता खनाल समूहले मन्त्रिपरिषदको उक्त निर्णयमा विरोध गरेको थियो । विरोधका बीच गत वर्ष राजमार्गको नयाँ मार्ग स्वीकृत भएको थियो ।
झापाको बाहुनडाँगीदेखि बुद्धशान्ति चोक क्षेत्र सडकको लम्बाइ ५० किमि रहेको मदनभण्डारी राजमार्ग योजना कार्यालय (झापा–धरान खण्ड) ले जनाएको छ । ५० किलोमिटर मध्ये २५ किलोमिटर बाटो परिवर्तन गर्न पूर्वप्रधानमन्त्री खनालको तर्फबाट निवेदन परेको छ ।
निवेदनमा २५ किमी बाटो परिवर्तन उल्लेख भए पनि आयोजनलाई पूरै खण्ड ५० किमि सडक निर्माण कार्यमा अवरोध पुगेको योजना कार्यालय झापाका प्रमुख सुवोधकुमार देवकोटा बताउँछन् ।
मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका सिनियर डिभिजन इन्जिनियर रमेशकुमार सिंहका अनुसार एक महिनाअघि पूर्व प्रधानमन्त्री खनालका तर्फबाट बाटो परिवर्तन नगर्नका लागि निवेदन परेको छ ।
हाल निर्देशनालयले रेखांकन परिवर्तका लागि फाइल उठाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाउने तयारी गरेको छ । निवेदन परेसँगै नयाँ रेखांकन गर्न भनिएको क्षेत्रमा प्राविधिक रूपमा चेकजाँचको कार्यसमेत अघि बढेको छ । क्यापिटल नेपालसँग कुरा गर्दै सिंहले भने, ‘प्राविधिक रूपमा नयाँ रेखांकन गर्नु भनिएको क्षेत्र उपयुक्त छ कि छैन हामी अध्ययन गर्दैछौैं । त्यसपछि अध्ययनको रिपोर्टलाई फाइल गरेर निवेदनसहित मन्त्रालयमा पठाउछौं ।’
प्राविधिक रूपमा उपयुक्त भएको वा नभएको जस्तो रिपोर्ट आए पनि मन्त्रालयमा पठाउने निर्देशनालयको तयारी छ । निवेदन परेको नयाँ क्षेत्र पनि उपयुक्त भएमा मन्त्रालयले दुईवटै रेखांकन स्वीकृत गर्न सक्ने सिंहको भनाइ छ । ‘हामीले अध्ययन गर्ने हो निर्णय मन्त्रालयले गर्छ । त्यसैले अहिले नै कुन रेखांकनमा काम अघि बढ्छ केही भन्न सक्ने अवस्था रहँदैन’ उनले भने ।
अहिले २५ किमि भनिएको क्षेत्र परिवर्तन भएर नयाँ रेखांकनअनुसार काम अघि बढ्यो भने सडकको लम्बाइ ३ किमिसम्म बढ्ने आयोजनाले बनाएको छ ।
राजनीतिक नेतृत्व परिवर्तन भएसँगै अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने बाध्यतामा रहेको निर्देशनालयका सीडीई सिंह बताउँछन् । जसका कारण सडक निर्माण कार्यमा पटक–पटक बाधा पुग्ने गरेको उनको भनाइ छ ।
‘नेतृत्व परिवर्तनसँगै अलाइनमेन्ट परिर्वतन हुने रोग नै भएको छ जसले गर्दा हामीलाई आधिकारीक डाटा तायार गर्न समस्या हुन्छ । गुल्मीमा पनि २ पटक परिवर्तन भइसकेको छ । झापामा एकपटक परिवर्तन भएको थियो । फेरि पूर्वप्रधानमन्त्री खनालकोतर्फबाट निवेदन परेको छ ।’ सीडीई सिंह भन्छन्, ‘हाम्रो भनाइ भनेको, हामी त काम गर्ने मान्छे हौं । अलाइनमेन्टको टुंगाे सरकार वा राष्ट्रिय योजना आयोगले गरिदिनुपर्यो ।’
उक्त क्षेत्रमा सडक निर्माणको लागि ठेक्का सम्झौता गर्ने तयारी भइरहेको थियो । सोही समयमा २५ किमी बाटोको रेखांकन परिवर्तनका लागि निवेदन परेपछि निर्माण कार्यमा बाधा पुगेको हो । कतिपय अवस्थामा ठेक्का सम्झौता सम्पन्न भएर काम सुरु हुन लागेपछि बाटो परिवर्तन गनुपर्ने बाध्यता रहेको इन्जिनियरहरू बताउँछन् । ‘काम गर्न लागेपछि यो भएन अर्को गर्नुपर्यो भन्नु त भएन नि । यसरी काममा बाधा पुग्छ’ सिंहले भने । उनका अनुसार रेखांकनको निर्णय निर्देशनालय तथा आयोजनाले नभइ मन्त्रिपरिषदले गर्नुपर्छ ।
आर्थिक वर्ष ०७५/०७६ बाट निर्माण सुरु भएको मदन भण्डारी राजमार्गको हालसम्म भौतिक ३१ प्रतिशत तथा वित्तीय प्रगति ३०.६ प्रतिशत भएको निर्देशनालयले जनाएको छ । उक्त राजमार्गले झापाको बाहुनडाँगीदेखि डडेलधुराको रुपाल जोड्छ ।
राजमार्ग निर्माण सम्पन्न गर्नुपर्ने म्याद आर्थिक वर्ष ०८१/०८२ सम्म रहेको छ । मदन भण्डारी राजमार्गको कुल लम्बाइ १४०० किलोमिटर रहेको छ ।
आयोजना निर्देशनालयले ७४० किलोमिटर मात्र सडक बनाउनुपर्ने छ । बाँकी सडक निर्माण भइसकेको छ । ७४० मध्ये २४० किमि सडक कालोपत्रे भइसकेको निर्देशानलयले जानकारी दिएको छ ।