काठमाडौं । सुदूरपश्चिम प्रदेशमा रहेको प्रस्तावित पश्चिम सेती जलासय आयोजना नेपाली लगानीमा बनाउन सरकारले तयारी थालेको छ । सुदूरपश्चिमका जनताको मागअनुसार सरकारले पश्चिम सेतीलाई स्वदेशी लगानीमा बनाउन तयारी थालेको हो ।
सुदूरपश्चिमबासीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग केही दिनअघि जलविद्युतमा सेयर लगानी गर्न नपाएको गुनासो गरेपछि सरकारले सो आयोजना स्वदेशी लगानीमा बनाउन गृहकार्य सुरु गरेको हो ।
पौडेल आयोजना प्रभावित सुदुरपश्चिमका विभिन्न जिल्लामा जाँदा त्यहाँका स्थानीयबासिन्दाले पश्चिम सेती स्वदेशी लगानीमा बनाउन सुझाव दिएका थिए ।
आयोजनाको लगानी मोडालिटी बनाउन प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्ड बैठकले आयोगका उपाध्यक्ष डा.पौडेलको संयोजकत्वमा अध्ययन गरी निर्माण खाका तयार पार्न एक समिति बनाएको थियो ।
त्यहाँका स्थानीयबासिन्दाको धारणा बुझेपछि समिति स्वदेशी लगानीमा बनाउने निश्कर्षमा पुगेको हो । यद्यपी यो प्रस्ताव लगानी बोर्ड बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ । सुदूरपश्चिमका स्थानीयबासिन्दाहरुले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जस्तै नेपाली पुँजीबाट पश्चिम सेती आयोजना बनाउनुपर्ने सुझाव दिएका थिए ।
७५० मेगावाटको पश्चिम सेतीबाट चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेशन बाहिरिएपछि आयोजना अहिले अलपत्र छ । सुदुरपश्चिमबासीले २५ वर्षदेखि आयोजना बन्ने आशा गर्दै आएका छन् । तर, उनीहरुको चाहना पूरा भएको छैन ।
लगानी बोर्डले पश्चिम सेतीमा एसआर–६ आयोजनालाई एकीकृत गरी जडित क्षमता १२०० मेगावाट पुर्याएको छ । यी दुई आयोजना बनाउन २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर अर्थात हालको डलर मूल्यअनुसार करिव २ खर्ब ८६ अर्ब ४३ करोड रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ । यो रकम १ डलर बराबर ११९ रुपैयाँका आधारमा राखिएको हो । यो अनुमानित लागत मात्र भएकाले यसमा थपघट हुने संभावना रहन्छ ।
बोर्डका अनुसार पश्चिम सेतीको मात्र करिव १ खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर र एसआर–६ १ खर्ब रुपैयाँ अर्थात ९२ करोड ७० लाख डलर लाग्ने अध्ययनले देखाएको छ । बोर्डले आयोजनालाई ‘अन्डर प्रक्युमेन्ट स्टेज’ मा राखेको छ ।
सन १९८१ देखि पश्चिम सेतीको चर्चा भयो । सुरुवाती अवस्थादेखि नै लामो समय परियोजना विदेशी कम्पनीकै कब्जामा पर्यो । सुरुमा सन् १९९४ मा अष्टे«लियन कम्पनी स्नोइ माउन्टेन कर्पोरेसन (स्मेक)ले आयोजना निर्माण गर्न अनुमति लियो । तर, परियोजनाको अनुमतिपत्र (लाइसेन्स) लिएको १६ वर्षसम्म काम सुरु गर्न सकेन केवल आयोजना रोक्यो (होल्ड) मात्र गर्यो । १७ पटकसम्म इजाजत नविकरण गर्दै बस्यो । परियोजनाको जग पनि खनेन् । अनेक बहानाबाजी र सर्त तेस्र्याएर परियोजनालाई बन्धक नै बनायो । स्मेकले लगानी जुटाउन नसकेपछि परियोजनाबाट हात झिक्यो ।
सन २०१२ मा थ्री गर्जेजले परियोजना विकास गर्न लाइसेन्स पायो । उक्त कम्पनीले पनि परियोजना लगानी मोडालिटी, विस्तृत अध्ययन र क्षमता घटाएर मात्र परियोजना विकास गर्न सकिने अडान कस्यो ।
उसले क्षमता घटाएर ६०० मेगावाटमा बनाउन सकिने प्रस्ताव गरेको थियो । क्षमता घटाएरै बनाउन नेपाल पक्षले सहमति नै दियो । तर, अनेक सर्तमाथि सर्त तेस्र्याउँदै थ्री गर्जेजले पनि ७ वर्षसम्म परियोजना बन्धक नै बनायो । वि.सं २०७४ मा नेपाल विद्युत प्राधिकरण र चाइना थ्री गर्जेजबीच दुई पक्षीय सम्झौता भयो । जसअनुसार परियोजनाको अनुमानित १ खर्ब ९० अर्ब रुपैयाँ लागतको ७५ प्रतिशत थ्री गर्जेज र २५ प्रतिशत विद्युत प्राधिकरणले लगानी गर्ने सम्झौता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षतामा बसेको लगानी बोर्डको ३१ औं बैठकले थ्री गर्जेजसँगको सम्झौता खारेज नगरी परियोजनाको थप अध्ययन गरी अघि बढ्ने निर्णयसमेत गरेको थियो । प्रधानमन्त्री ओलीको जोडबल थ्री गर्जेजलाई नै परियोजनाको जिम्मेवारी दिने थियो ।
तर, कम्पनीका अनेक बखेडाका अघि उनको केही जोर चल्न सकेन । अन्ततः २०७५ असोज ३ गते पश्चिम सेतीबाट थ्री गर्जेजसँगको सम्झौता तोडियो । त्यसपछि, सरकार आफैले स्वदेश भित्रकै स्रोत परिचालन गरेर निर्माण सुरु गर्ने योजना अघि सार्यो ।
आर्थिक वर्ष ०७५/०७६ मा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले पश्चिम सेती परियोजनालाई नेपाल भित्रकै स्रोत परिचालन गरी निर्माण सुरु योजना अघि सारे । स्वदेशी लगानीमै बनाउने भने पनि पछिल्लो दुईवर्ष परियोजनाको मोडालिटीको टुंगो लाग्न सकेको छैन । आयोजनाले बझाङ, बैतडी, डोटी र डडेलधुरा र आछम जिल्लालाई प्रभावित बनाउने छ ।
ढिलाइ प्रति युवाको आक्रोश
पश्चिम सेती अघि बढाउन भइरहेको ढिलाईप्रति पहिलो पटक त्यसक्षेत्रका युवा तथा नागरिक काठमाडौंमा आएर २०७६ माघ ११ गते विरोध जनाएका थिए । त्यस क्षेत्रका युवाहरु स्टीलका कचौंरामा आधा पानी देखाएर विरोध जनाएका थिए । सरकारसँग केही माग्न होइन, विकास नभएर वा ढिलाइका कारण जन्माएको बिरोध थियो त्यो ।
आयोजना लामो समयदेखि निर्माण अघि बढ्न सकेको छैन । ‘आश्वासन अति भो, धैर्य गर्ने कति हो ?, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छ ?, हिजो आशा मर्यो, आज जवानी मर्दैछ, भोलि सपना मर्ने छ लगायत नारासहित कचौरा लिएर माइतीघर मण्डलमा युवाहरुले प्रदेशन गरेका थिए ।
यो पनि हेनुृहोस
विदेशीको बन्धक बन्यो पश्चिम सेती, योजना स्वदेशी लगानीमा बनाउने, आश विदेशीकै
पश्चिम सेतीको ढिलाइप्रति कचौरामा पानी देखाएर बिरोध