काठमाडौं । बढ्दो क्रममा देखिएको सेयर बजार सूचकले थप उचाइ लिने क्रमलाई निरन्तरता दिएकै छ । साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ‘पोजेटिभ भाइब्स’ दिँदै बजार बन्द भएको छ ।
आइतबार २९२६ मा बन्द भएको नेप्से सूचक सोमबार प्रि-अाेपनिङ कारोबारमै बढेर २९४४ बिन्दूमा पुगेको थियो । त्यसपछि बढेको बजार पहिलो ३ मिनेटमै २९५२ सम्म चढे पनि १७ मिनेटभित्र सूचक घटेर २९०७ मा आयो । फेरि, सिधै उक्लिएको बजार ३३औं मिनेटमा सोमबारको उच्च बिन्दु २९५६ सम्म चढ्यो । तर, लगत्तै घटेको बजारले घट्ने र बढ्ने ट्रेन्ड समाउँदै २०.६४ अंकले बढेर २९४७.२९ अंकमा बजार बन्द भयो ।
सोमबारको नेप्से प्रवृत्ति हेर्दा सुरुमै उच्च अंकबाट न्यून बिन्दुमा पुगेर फेरि उच्च अंक समाएर कम न्यून त्यसपछि पहिलो न्यूनभन्दा कम न्यून बिन्दूमा कारोबारको मध्य समयमा झरेको नेप्से त्यसपछि भने बढ्दो तर कम घट्दो क्रममा रहँदै अन्तिममा सुरुवाती उच्च बिन्दुभन्दा केही तल बन्द भयो ।
यो प्रवृत्ति हेर्दा मंगलबार सुरुमै बजार केही झर्ने संकेत गरेको छ । लगानीकर्ताहरुले नाफा बुक गर्ने रणनीति अङ्गिकार गरेको स्थितिलाई सोमबारको कारोबारले पनि देखाएको छ । मंगलबार पनि त्यही प्रवृत्ति दोहोरिने र बजार केही खच्कन सक्ने सम्भावना भए पनि पोजेटिभ भाइब्स रहेकाले ठूलो असर नदेखिन सक्छ ।
आइतबार ९ अर्ब ६० करोड रुपैयाँ कारोबार भएकोमा सोमबार घटेर ७ अर्ब ९० करोडमा सीमित भएको छ । यसले लगानीकर्ता बजार बढ्ने वा घट्ने भन्ने दोधारमा रहेको देखाउँछ । सोमबारलाई पर्ख र हेरको स्थितिमा लगानीकर्ताले उपयोग गरेका छन् । किनभने सोमबारको कारोबारमा तीव्र उतारचढाव देखिएका छन् ।
माघ लागेसँगै सेयर बजारमा स्वभाविक सकारात्मक प्रभाव देखिन थालेको छ । पुस मध्येदेखि कोरोना महामारीको फैलँदो चापको असर बजारमा परेको छ । अर्थतन्त्रका यावत सूचकहरु बिग्रिएका तथ्यांक आइरहँदा पनि लगानीकर्ताहरुले कुनै प्रवाह नगरी सेयर बजारमा खेलिरहेका छन् ।
कोरोनाका कारण हुनसक्ने बन्दाबन्दीको अपेक्षा र अन्य क्षेत्रतर्फको कर्जा मागमा आएको कमी र बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा थोरै चाहनेलाई ऋण दिन थालेपछि लगानीकर्ता थप उत्साहित भएका हुन् । साथै सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित हुनेक्रम सुरु हुने समय नजिकिएको, कर्जाको ब्याजदर वृद्धिको खासै चाप नपरेको, सरकारले लक्ष्यअनुसार आयकर उठाउन नसकेको र तरलताको स्थितिमा सहजता आएकाले बजारले थप उचाइ लिने देखिएको छ ।
सोमबार बजार बढ्दा ९७ कम्पनीको सेयर मूल्यले सकारात्मक इनर्जी दिएको छ भने बढेकै बजारमा पनि ८१ कम्पनीको मूल्य घटेको छ । अकारण आइतबार १० प्रतिशत मूल्य बढेर सर्किट लागेको स्ट्याण्डर्ड चार्टर्डको मूल्य सोमबार सबैभन्दा बढी २.९१ प्रतिशतले घटेको छ ।
दुई सातादेखि नियमित सर्किट लाग्दै आएको मध्ये भोटेकोसीको सेयर मूल्यमा सोमबार पनि सर्किट लागेको छ । सोमबार जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । उच्च कारोबार हुने तीन कम्पनीहरुमा अरुण भ्याली हाइड्रो पावरको ४४ करोड ५५ लाख, अपी पावरको ४१ करोड र माथिल्लो तामाकोसीको २४ करोड ९ लाख रुपैयाँ छ ।