गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ ।
बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सोको जानकारी दिएका हुन् । उनले मन्त्रालयले संगठन तथा कर्मचारी व्यवस्थापन (ओएनएम) स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बताए ।
'आउँदो आर्थिक वर्षदेखि यो कार्यान्वयनमा जान्छ । अब पर्यटनको काम जिल्लाबाटै हुन्छ' उनले भने, 'अधिकृत तहका कर्मचारी, इन्जिनियरलगायतको दरबन्दी शाखामा रहन्छ । र, त्यहीँबाट पर्यटन पूर्वाधारका योजनादेखि प्रवर्धनकाे काम सञ्चालन हुनेछ ।'
यसअघि पर्यटनसम्बद्ध संघ-संस्थाले जिल्लामा अलग्गै पर्यटन कार्यालय खोल्न माग गर्दै आएका थिए । मन्त्री कँडेलले छुट्टै कार्यालय आवश्यक नदेखिएकाले घरेलुमार्फत सेवा प्रवाह हुने गरी शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएका हुन् ।
जिल्लामा पर्यटन क्षेत्र हेर्ने सरकारी निकाय/संयन्त्र नहुँदा स–साना कामका लागि पनि प्रदेश राजधानी जानुपर्ने बाध्यता छ । पोखराबाट पर्यटन कार्यालय, पर्यटन बोर्डलगायतले सेवा दिइरहेका छन् । पर्यटनमा राज्यको लगानी बढेको र समृद्धिको आधार क्षेत्रका रूपमा पनि लिइए पनि सोहीअनुसार सरकारी संरचना खडा हुन सकेको छैन । यसका कारण विकास योजनाका काम प्रभावित बन्ने गरेका छन् । पर्यटनकाे सेवामा सबैको पहुँच छैन ।
मन्त्री कँडेलले सर्वसाधारणको हित हेरेर मन्त्रालयले प्रदेशका दुई ठाउँमा कम्पनी रजिस्टारको कार्यालय पनि ल्याउन लागेको जानकारी दिए । उनका अनुसार छिट्टै कास्की र बागलुङमा साे कार्यालय सञ्चालनमा आउनेछ ।
विस्तारै चलायमान हुँदै गएको पर्यटन क्षेत्रमा कोरोनाको नयाँ भेरियन्टले पुनः त्रास थपेको हुँदा पर्यटन क्षेत्रको पुनःउत्थानका लागि सरकारले राहत र अनुदान सुविधा दिएको उनले बताए । 'होटल व्यवसायीलाई बिनाब्याज तीन वर्षलाई १५ लाख रुपैयाँ ऋण दिइरहेका छौं' उनले भने, 'तर सोच जसरी व्यवसायीले त्यो सुविधा लिन सकेका छैनन् ।