काठमाडौं । भ्रमण वर्ष २०२० को सचिवालयले साउन २४ गते आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा नेपाली र विदेशीलाई लिने हवाई भाडा महँगो भएको भन्दै समायोजन गर्न अनुरोध गरे ।
साउन ३० गते नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले एयरलाइन्स सञ्चालकहरुसमक्ष हवाई भाडा समायोजनको प्रस्ताव राखे । तर उनले यस विषयमा तपाईहरुसँग तत्कालै छुट्टै छलफल गर्ने कार्यक्रम रहेकाले आज कुनै प्रतिक्रिया जनाउन नपाउने सर्त पनि राखे । पर्यटनमन्त्रीले आन्तरिक उडानमा विदेशी र नेपालीलाई लिने भाडादर समायोजन गर्न निर्देशन दिँदै त्यसो नगरे सरकारले हस्तक्षेप गर्न सक्नेसमेतको चेतावनी दिए ।
पर्यटनमन्त्रीले कुनै प्रतिक्रिया जनाउन नपाउने सर्त राखेका कारण कार्यक्रम हलमा शान्त भएका हवाई सञ्चालकहरु कार्यालयबाहिर निस्कनेबित्तिकै उफ्रन थाले । केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पर्यटनमन्त्रीले राखेको प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै भाडा समायोजन गर्नुपरेमा सरकारलाई चाबी बुझाउन तयार रहेको प्रतिक्रिया दिए ।
पर्यटनमन्त्री भट्टराईले भदौ ९ गते १ वर्षमा गर्ने कार्ययोजना सार्वजनिक गर्दै ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई हवाई भाडामा ५० प्रतिशत छूट दिने निर्णय गरे । हवाई क्षेत्रको विषयमा एकपछि अर्को निर्णय गर्न लागेपछि वायुसेवा सञ्चालक सङ्घको आकस्मिक बैठक बस्यो र मन्त्रीले गरेका कुनै पनि निर्णय कार्यान्वयन नगर्ने भन्दै पर्यटन मन्त्रालयमा पत्रसमेत पठायो ।
वायुसेवा सञ्चालक सङ्घले पठाएको पत्रलाई उनले केही प्रतिक्रिया दिएका छैनन् । तर बिहीबार चितवन पुगेका पर्यटनमन्त्री भट्टराईले वृद्धवृद्धाहरुलाई हवाई भाडामा छुट नदिने एयरलाइन्सहरुलाई पाप लाग्ने बताए । वृद्धवृद्धाहरुलाई सम्मान गर्नुपर्ने बेला हवाई भाडामा छूट दिन नसक्ने प्रतिक्रिया दिएको भन्दै उनले आक्रोश व्यक्त गरे । त्यति मात्र होइन, उनले विद्यालयको एक कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई हवाई भाडामा छूट नदिने एयरलाइन्सहरुविरुद्ध सामाजिक सञ्जालमा विरोध गर्न अनुरोधसमेत गर्न भ्याए ।
हवाई भाडा समायोजनलगायत विषयमा सरोकारवाला निकायहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै वायुसेवा सञ्चालहरु रुष्ट छन् । वायुसेवा सञ्चालक सञ्चालक र पर्यटनमन्त्रीबीच दूरी बढेकै कारण छुट्टै बस्ने भनेको मिटिङसमेत हुन सकेको छैन ।
वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष पवित्राकुमार कार्कीले पर्यटनमन्त्री भट्टराईले क्षणिकको लोकप्रियताका लागि निर्णय गरेको बताउँदै कुनै पनि हालतमा कार्यान्वयन नगर्ने अडान राखेका छन् । ‘एयरलाइन्सहरु गम्भीर आर्थिक सङ्कटमा परिरहेको बेला मन्त्री भट्टराईले राखेको प्रस्ताव स्वीकार गर्न सकिन्न,’ अध्यक्ष कार्कीले भने, ‘सरकारले एक्लौटी गरेर पेल्न खोज चाबी बुझाउनुको विकल्प हुन्न ।’
वृद्धवृद्धाहरुलाई ५० प्रतिशत छुट दिने विषय ठूलो नभएको भन्दै त्यसका लागि सरोकारवाला निकायहरुसँग छलफल गरेर मापदण्ड बनाउनुपर्नेमा मन्त्री एक्लैले बजारमा अनावश्यक प्रतिक्रिया जनाउँदै गएको उनले बताए । ‘हवाई यात्रा गर्ने वृद्धवृद्धामा प्रायः व्यापारिक प्रायोजनमा यात्रा गर्नेहरु रहन्छन्,’ अध्यक्ष कार्कीले भने, ‘उहाँहरुलाई छुट दिएर के हुन्छ ?’
पर्यटनमन्त्रीले भने जस्तै वृद्धवृद्धाहरुलाई हवाई भाडामा छुट दिँदा अहिले चलेको भाडादरभन्दा महँगो हुने भएकाले यस विषयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् ।
‘एयरलाइन्सहरुले भाडा छूट दिँदा सरकारले निर्धारण गरेको भाडामा दिने हो, त्यसमा छुट दिँदा अहिलेको भन्दा महँगो हुन्छ,’ अध्यक्ष कार्कीले क्यापिटलसँग कुरा गर्दै भने । हाल बुद्ध, श्री, यती, तारा, सीता, सिम्रिक, समिट, सौर्य र नेपाल एयरलाइन्सले आन्तरिक उडान गर्दै आएका छन् ।