काठमाडाैं । विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच साझेदारी भइरहेकामा अब मलेसियाबाटसमेत रकम पठाउन सकिने गरी दुवै पक्षबीच साझेदारी भएको छ ।
योसँगै अब ग्राहकले मलेसियाबाट बिनाझन्झट वर्ल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् । यस्तै विदेशबाट आफूले इच्छाएको व्यक्तिका नाममा रेमिट्यान्स पठाई देशभर छरिएर बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नगद बुझ्न सकिने व्यवस्थासमेत रहेको छ ।
यस साझेदारीले मलेसियामा रहेका लाखौं नेपालीले रकम पठाउन रेमिट्यान्स शाखासम्म पुग्न नपर्ने र समयको बचत हुने कम्पनीले विश्वास लिएको छ ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्यान्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, नर्वे, रोमानिया, सिंगापुरलगायत विश्वका ५० भन्दा बढी देशबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।
एनआईसी एसिया बैंकले मुलुकभरका ३५८ शाखा कार्यालय, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।