लमजुङ । लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकताअनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो ।
गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैंची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष अलैंचीको विक्रीबाट १८ करोड २० लाख रूपैयाँ आम्दानी गरेका किसानले यो वर्ष ३ करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ ।
यस वर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैंची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैंची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैंची किसानसमेत रहनुभएका संयोजक तामाङले गतवर्ष ४ सय ५० केजी अलैंची दाना उत्पादन भएकोमा यो वर्ष २ सय केजी मात्र उत्पादन भएको बताए।
त्यस्तै, बेंसीसहर नगरपालिका–१० खाँचेका अलैँची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करिब २०० किलो अलैंची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैंची उत्पादन भएको बताए । अलैंची उत्पादन घटे पनि मूल्य भने वृद्धि भएको छ ।
गतवर्ष ४५० किलो अलैंची दाना बिक्रीबाट २ लाख ७० हजार आम्दानी गरेको छिनेखोलाका तामाङले यो वर्ष २ सय किलो अलैंची दाना बिक्रीबाटै १ लाख २० हजार रूपैयाँआम्दानी गरेकामा यो वर्ष ३५ हजार रूपैयाँमात्र आम्दानी गरेको बताए।
गतवर्ष प्रतिकिलो ५ सयदेखि ६ सय रूपैयाँमा अलैंचीको दाना बिक्री गरेका किसानले यो वर्ष १ हजार ५० देखि १ हजार १ सय रूपैयाँसम्म बिक्री गरेका छन् । अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष १ हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने ४ सय ७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएको थियो ।
व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निराश बनेका छन् । दशकअघि प्रतिकेजी २ हजार ५ सय रूपैयाँसम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो ८ सयदेखि ९ सय रूपैयाँको हाराहारीमा छ ।
जिल्लामा विसं २०४१ बाट अलैँची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । विसंं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैंची दानाको बिक्रीबाट ५ करोड २५ लाख रूपैयाँ र विसं २०७४ मा ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट ४ करोड ४८ लाख रूपैयाँ आम्दानी गरेको थियो । जिल्लामा हाल १ हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।
साे परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैँची दाना प्रतिकिलो २ हजार २ सय रूपैयाँसम्ममा बिक्री गर्ने गरेका थिए ।
जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाईमा गोलशाही तथा १६ सयदेखि २२ सय मिटर उचाईमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् ।
उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महिनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु । दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी बिक्री गर्ने गरेका छन् ।
लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् । जिल्लामा लगाइएको अलैंचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैंचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ । अलैंची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ । रासस