काठमाडौं । पछिल्लो समय सहरको भीडभाडबाट केही टाढा सुविधासम्पन्न हाउजिङ र कोलोनी निर्माण हुने क्रम बढिरहेको छ । तिनै कोलोनीहरूको भीडमा एउटा नाम हो, केसीएल कोलोनी ।
एक वर्षअघिबाट निर्माण सुरु भएको कोलोनीको काम ७० प्रतिशत सम्पन्न भइसकेको जनाएको छ । १३ वटा घरमध्ये ११ वटा बिक्री भइसकेका फाइनान्स हेड सक्षम सुवेदीले बताए । वैशाखसम्ममा घर हस्तान्तरण गर्ने योजना कम्पनीको छ ।
करिब ५० करोड लागतमा निर्माण हुने सो कोलोनीमा १३ घरहरू छन् । काठमाडौं क्यापिटल लिमिटेडको सबसिडरी कम्पनी केसीएल डेभलपर लिमिटेडले १२२ आना क्षेत्रफलमा कोलोनी निर्माण गरिएको फाइनान्स हेड सक्षम सुवेदीले जानकारी दिए ।
दिनभरिको मेट्ने उद्देश्यका साथ शान्त वातावरण रुचाउनेलाई लक्षित गरी निर्माण गरिएका घरहरूमध्ये प्रतिघरको मूल्य ३ करोड ५० लाखदेखि ४ करोड रुपैयाँसम्म रहेको छ । लक्जरीयस भएका कारण केही महँगो हुने उनको भनाइ छ ।
कोलोनी काठमाडौं बूढानीलकण्ठ नगरपालिकास्थित तौलुङमा बन्दै छ । कोलोनी रिङरोडबाट करिब ६ किलोमिटरभित्र र देउबा चोकबाट १ किलोमिटरभित्र छ । कोलोनीबाट पश्चिम फर्किंदा काठमाडौं सहर देख्न सकिन्छ ।
६ देखि साढे १० आना क्षेत्रफलमा निर्माण भइसकेका र निर्माण हुने घरहरु सबै साढे २ तलाका छन् ।
तारे होटलको डिजाइनमा बनेको सो कोलोनी बूढानीलकण्ठको देउवाचोकबाट १८०० मिटर टाढा रहेको छ ।
कोलोनी भित्रको एउटा घरमा ४ कोठा, ४ बाथरुम र एक किचन रहेको छ । यस्तै २ वटा गाडी पाकिङ गर्नसमेत सकिनेछ ।
घरमा मोडुलर किचन सेट र बाथरुम सेट उपलब्ध हुनेछ । कोठामा वायरिङ क्लोथसेटसमेत हुनेछ भने घरमा बेड, सोफा, डाइनिङ टेबल घरधनी आफंैले खरिद गर्नुपर्ने छ ।
कोलोनीभित्र पानीको व्यवस्थाका लागि वाटर प्युरिफाइङ सिस्टम सहितको सिस्टम जडान हुनेछ । १२ डिग्री स्लोपमा बन्ने कोलोनीको माटो परीक्षण र स्लोप टेस्ट गरिसकिएको छ । यस्तै कोलोनीभित्र गार्ड हाउस, मन्दिर पनि छ ।
काठमाडौं क्यापिटल लिमिटेडले दोस्रो प्रोजेक्टको रूपमा केसीएल कोलोनी निर्माण गरेको अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए । यसअघि कम्पनीले बूढानीलकण्ठमै बगैंचा कोलोनीसमेत निर्माण गरिसकेको छ ।