काठमाडौं । पछिल्लो समय तरलता अभावको असर अटो क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । तरलता अभावका कारण बैंकहरुले अटो कम्पनीको पैसा डिस्बर्स गर्न सकेका छैनन् ।
पछिल्लो डेढ महिनादेखि बैंकले सेवाग्राहीका लागि अटो कम्पनीहरुलाई डीओ (डेलिभरी अर्डर) दिँदै डिस्बर्र्सको पैसा होल्ड गरिरहेको व्यवसायीहरु बताउँछन् ।
सामान्य अवस्थामा ग्राहकहरुले बैंकबाट अटोलोन लिएर गाडी किनेपछि बैंकले अटो कम्पनीलाई पैसा डिस्बर्स गर्छ । तर, यसपालि तरलता अभावका कारण धेरै बैंकले धेरै अटो कम्पनीको पैसा तिर्न सकेका छैनन् ।
धेरै अटो व्यवसायीलाई अहिले यही समस्या भइरहेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएनका अध्यक्ष ध्रुव थापा बताउँछन् । ‘अधिकांश बैंकले अहिले अटो कम्पनीलाई पैसा तिर्न सकेका छैनन्’ थापा भन्छन्, ‘नाडामा हाम्रा धेरै व्यवसायीहरुको अहिलेको टड्कारो पीडा यही नै छ ।’थापाको आफ्नै फोर्स मोटर्सको समेत ६/७ वटा बैंकले डिबर्समेन्ट होल्ड गरिरहेको बताउँछन् ।
यसैगरी टु ह्विलर्स, फोर ह्विलर्सदेखि हेभी भेहिकलको बिक्री–वितरण गर्दै आइरहेको मोरङ अटोवर्क पनि तरलता अभावका कारण ग्राहकलाई आम्दानीको प्रुफ देखाउनुपर्ने गरी डकुमेन्टेनसमा एकदमै कडाइ भइरहेको एमएडब्लुका सीईओ राजु क्षेत्री बताउँछन् । बैंकले पैसा उपलब्ध गराउन नसक्दा डिलरहरुलाई क्यास रोटेसनमा समस्या भइरहेको क्षेत्रीले बताए ।
‘बैंकहरुले अटो कम्पनीलाई व्यापार गर्न प्रवाह गर्नुपर्ने पैसा दिन सकिरहेको छैन । त्यसैले अहिले हाम्रा डिलरहरुलाई क्यास रोटेसनमा एकदमै समस्या भइरहेको छ’ क्षेत्री भन्छन् ।
डेढ दुई महिनादेखि छाएको तरलता अभावका कारण डिस्बेर्समेन्टमा मात्र होइन सवारी साधनको बिक्रीमा नै व्यवसायीहरुले समस्या भोगिरहेका छन् ।अटो व्यवसायीका अनुसार गाडी डेलिभरी दिएको ४० दिनसम्म पनि भुक्तानी भएको छैन ।
सीजी मोटरकर्पमा सेल्स म्यानेजर सिरज पन्त बैंकको पैसा डिस्बर्स हुने समस्या अहिले सिंगो उद्योगभरि नै रहेको बताउँछन् । सीजीको गाडी व्यापार गत मंसिरदेखि पुरै ठप्प भएको उनी बताउँछन् । पन्त भन्छन्, ‘एक महिना भयो गाडीको व्यापार शून्यमा झरेको छ ।’
तर, तरलता अभाव एउटा बैंकको निजी समस्या नभएर सिंगो अर्थतन्त्रकै समस्या भएकाले अटो व्यवसायीले पनि धैर्यताका साथ पर्खिनुबाहेक अन्य विकल्प नरहेको अध्यक्ष थापा बताउँछन् । माघको पहिलो साताबाट यो समस्याको समाधान हुने अपेक्षा गरेको थापाले बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय भने अटो व्यसायजस्ता अनुत्पादक क्षेत्रले तरलता संकटमा पर्खेर सहकार्य गर्नुपर्ने बताउँछन् । उत्पादक क्षेत्रहरुले केही सुविधा पाएको तर अटो उद्योगहरुले भने केही समय पर्खेर सहकार्य गर्नुपर्ने उपाध्यायले बताए ।
अटो क्षेत्रको आफ्नै किसिमको अनुत्पादक व्यवसाय चेनका कारण पनि तरलता संकट भएको उनी बताउँछन् ।
‘अटोजस्तो अनुत्पादक क्षेत्रले धेरै आयात गर्यो । यसको भार करिब ५० प्रतिशतभन्दा धेरै छ’ उपाध्याय भन्छन्, ‘अटो व्यवसायीहरुले आयात गरे बिक्री पनि गरे तर बिक्री गरेर कमाएको नाफाको पैसा बैंकको सिस्टममा आएन । पैसा फेरि आयातमै गयो । यदि त्यो पैसा आएको थियो भने तरलता संकट हुने थिएन ।’
किन्ने, ल्याउने, बेच्ने, अनि कमाएको सबै पैसाले किन्ने, यस्तो चेन इफेक्टमा एउटा पाटो रोकिने बित्तिकै सबैमा चेन इफेक्ट पर्ने उपाध्याय बताउँछन् ।कोभिडका कारणले दुई वर्षदेखि गएको पैसालाई आफूहरुले असुली गर्नसमेत नसकेको उनी बताउँछन् ।
आयातले भुक्तानी सन्तुलन बिग्रने र अटो आफैंमा अनुत्पादक क्षेत्र भएका कारण त्यस्ता वस्तुहरु केहीमा शतप्रतिशत त केहीमा ५० प्रतिशतसम्म तरलता प्रवाहमा कडाइ गरेको उनी बताउँछन् ।
‘बिक्री गरेर पैसा राखेर फेरि मगाउने गरेको भए अतिरिक्त तरलता चाहिने नै थिएन । कारोबारबाटै तरलता उत्पन्न गराएर काम गरौं भनेर सोचका हौं’ उनी भन्छन्, ‘वैश्विक संकटको समयमा संसारभरिको अस्त्र यो नै हो । केही समयपछि परिस्थिति सामान्य भए फेरी सबै कुरा पुरानै अवस्थामा आउँछ ।’
तर, फेरि ओमिक्रोनको प्रभाव देखिन थालेका कारण लिक्विडिटीमा असर पर्ने उनी बताउँछन् । अबको अर्को केही वर्षसम्म संसारभरका मुलुकहरु वित्तीय संकटमा जाने उनको ठम्याइ छ ।