अटोमोटिभ कम्पनी जैष्णवी गु्रपले नेपाली बजारमा याक ब्राण्डको इलेक्ट्रिक बाइक भित्राएको छ । कम्पनीले स्मार्ट सिटी, स्मार्ट राइड सोलोगनका चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्राएको हो ।
अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्ने कम्पनीले जनाएको छ । यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको जैष्णवी गु्रपकी अध्यक्ष स्मृति पालिखेले बताइन् । 'विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्छ,' उनले भनिन् ।
उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरूप्रति आफ्नो चासो देखाएकी थिइन् । प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि वास्तवमा हाम्रो देश जिम्मेवार छैन । उनले भनिन्, 'तर भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ, विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ।' त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले याक बाइक्सलाई नेपालमा भित्राउने निर्णय गरेको हो।
सो अवसरमा जैष्णवी गु्रपका सीईओ जोन खड्काले भने, 'सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न याक बाइक्सहरू यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ।'
बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने जैष्णवी ग्रुपको विश्वास छ । आयातित इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठुलो भूमिका खेल्न सक्छ । आयात घटाउने यही उद्देश्यले हामीले हाम्रो बाइक नेपालमा एसेम्बल गर्ने तयारी समेत गरेको खड्काले बताए ।
कम्पनीले ५०० भन्दा बढी न्यून आय भएका र बेरोजगारहरूका लागि रोजगारी सृजना गर्ने जनाएको छ । कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुग्ने जनाएको छ ।