काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको सहयोगमा हिमालयन–इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएपछि केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीतिर विषय सोझिएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले अर्थमन्त्रीलाई प्रयोग गरेर सञ्चयकोषलाई मर्जको विपक्षमा उभ्याएपछि गभर्नर अधिकारीतिर प्रश्न तेर्सिएको छ ।
बैंक तथा वित्तीय संस्थाको सर्वोपरी निकाय केन्द्रीय बैंक हो । तर, यो मर्जमा गभर्नर अधिकारी पछि नहट्ने देखिएपछि श्रेष्ठले अर्थमन्त्रीलाई प्रलोभनमा पारेर मर्ज भाँडेका हुन् । दुई बैंक एक आपसमा मर्ज भएमा श्रेष्ठको हिमालयन बैंकमा भइरहेको मनोमानी रोकिने भए पछि शक्तिकेन्द्र धाएर मर्ज भाँडेको बुझिएको छ ।
हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले अर्थमन्त्रीलाई भनेर सञ्जय कोषलाई मर्जको विपक्षमा भोट हाल्न लगाएका हुन् । त्यही भएर दुई बैंकबीच मर्ज प्रक्रिया बीचैमा भाँडिएको छ । इन्भेष्टमेन्ट बैंकको तर्फबाट मर्जर प्रकृयामा कुनै पनि समस्या नरहेको बताइएको छ । नेपाल राष्ट्र बैंकलाई भने हिमायलयन बैंकले डिमर्जरसम्बन्धी कुनै पनि जानकारी नगराएको बताइएको छ ।
हिमालयन इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि ज्वाइन्ट मर्जर कमिटी गठन मर्जसम्बन्धी सम्पूर्ण प्रकृया पूरा गरिसकेको बताइएको छ । मर्जर कमिटीले पुँजी पर्याप्ता, नेटवर्थ, निक्षेपको वर्गीकरण तथा संरचना, कर्जाको वर्गीकरण तथा गुणस्तर, कर्जा नोक्सानी पर्याप्तताको व्यवस्था, प्रचलित कानुन नियमनको पालनास्थिति, जनशक्ति व्यवस्थापन, सूचना प्रविधि, व्यवसायको बजार अंश, सेयर स्वाप अनुपात, सेयरको बजार मूल्य, शाखा सञ्चालनलगायत सम्पूर्ण कामहरु संयुक्त मर्जर कमिटीले गरिसकेको थियो । तर, हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले आफ्नो हालीमुहाली बैंकमा नचल्ने देखेपछि अन्तिम समयमा आएर कर्मचारी सञ्चयकोष समेत आफ्नो पक्षमा पारी मर्जर प्रकृया भाँडेको बताइएको छ ।
हिमालयन बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित नगरेपछि नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तसम्बन्धी विनियमावली, २०७३ मा भएको व्यवस्थानुसार कारबाही भोग्नुपर्ने भएको छ ।
हिमालयन बैंकले घोषणा गरेको २६ प्रतिशत लाभांश वितरण गर्न नपाउने भएको छ । यसैगरी, हिमालयन बैंकले नयाँ शाखा खोल्न पाउने छैन । नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने नियामकिय सुविधाहरु स्थायी तरलता सुविधा (एसएलएफ), पुर्नकर्जा प्रयोग गर्न पाउने छैन । यसैगरी बैशाखदेखि दोस्रो बजारमा रोक्का भएको सेयर कारोबार समेत फुकुवा हुने छैन । अब हिमालयन बैंकले राष्ट्र बैंकको कारवाहीबाट जोखिनका लागि अर्को बैंकसँग मर्जर गर्नुपर्ने देखिएको छ ।