काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्ज भाँडिएको छ । नबिल र नेपाल बंगलादेश बैंकबीच प्राप्ति (एक्वायर) का लागि समझादारीपत्र (एमओयू) मा हस्ताक्षर भएको भोलिपल्ट हिमालयन र इन्भेष्टमेन्टबीचको मर्ज प्रक्रिया भाँडिएको हो ।
मर्ज प्रक्रियामा अर्थमन्त्री जनार्दन शर्माको प्रवेश भएपछि संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय कोष मर्जको विरुद्धमा गयो । अर्थमन्त्री शर्माले कामु प्रशासक जितेन्द्र धिताललाई मर्ज प्रकृयाबाट पछाडी हट्न दबाव दिएपछि सञ्चय कोष मर्ज प्रकृयाबाट अलग भएको स्रोतले बतायो ।
यस्तै हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई अर्थमन्त्री शर्माले साथ दिएपछि दुई बैंकको मर्ज प्रकृया भाडिन सहयो पुर्याएको स्रोतको भनाई छ । यी दुई बैंकको मर्जपश्चात श्रेष्ठको हालीमुहाली नचल्ने भएपछि मर्ज प्रक्रिया नै रोकिएको दाबी स्रोतको छ ।
मर्जपश्चात एकीकृत बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे, हिमालयनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशम्शेर जबरा सीईओ र नेपाल इन्भेष्टमेन्टका सीईओ ज्योतिप्रकाश पाण्डे डेपुटी सीईओ हुने सहमति भएको थियो ।
सोही कारण पनि प्रचण्डबहादुर श्रेष्ठ मर्जका विपक्षमा थिए । सञ्चय कोषका तत्कालिन प्रशासक तुलसी गौतमको पहलमा दुई बैंकबीच मर्जका लागि एमओयू भएको थियो । त्यसबेला गौतम हिमालयनका अध्यक्ष थिए । गौतम र पृथ्वीबहादुरले मर्जमा जाने एमओयूमा हस्तक्षर गरेका थिए ।
श्रेष्ठको हिमालयन बैंकमा २० प्रतिशत सेयर रहेको छ । मर्जका लागि ७५ प्रतिशत लगानीकर्ताको समर्थन आवश्यक हुन्छ । अध्यक्ष श्रेष्ठले अन्य १० प्रतिशत लगानीकर्ता आफ्नो प्रभावमा पारी मर्ज प्रकृया अगाडि बढ्न नदिएको बताइएको छ । हिमालयनमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत स्वामित्व छ । हबिब नेपालबाट बाहिरिन खोजेको छ ।
मर्ज प्रक्रिया भाडिएको हिमालयका सीईओ अशोकशम्शेर जबराले बताए । सञ्चय कोष र श्रेष्ठ समूह विरुद्धमा गएपछि मर्ज प्रक्रिया सफल हुन नसकेको उनले स्पष्टपारे ।
हिमालयन बैंकको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले प्रस्ताव पारित नगरेकाले अब दुई बैंक तत्काल मर्ज नहुने निश्चित भएको हो ।
गत वैशाखमा हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जमा जानका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्तक्षर गरेका थिए । गौतमले मर्ज गराउनका लागि प्रयास थालेपछि प्रचण्ड श्रेष्ठ समूह असन्तुष्ट बनेको थियो ।
गौतम हिमालयन बैंकको अध्यक्षबाट हटेपछि प्रचण्ड श्रेष्ठ उक्त बैंकको अध्यक्ष भए । उनी अध्यक्ष भएदेखि नै यी दुवै बैंकबीच कुनै पनि हालतमा मर्जर हुन नदिने पक्षमा थिए ।
मर्जर सम्झौतापश्चात दुबै बैंकको सेयर कारोबार ८ महिनादेखि रोकिएको छ । यसैगरी दुवै बैंकले छुटाछुट्टै लाभांश घोषणासमेत गरेर मूल्यसमेत समायोजन भइसकेको छ । प्रारम्भिक सम्पत्ति तथा दायित्वको मूल्यांकन ‘डीडीए’ रिपोर्टप्रति दुबै बैंकका लगानीकर्ताहरु सकारात्मक भएपछि मर्ज प्रकृया अगाडि बढेको थियो ।
इन्भेष्टमेन्ट बैंकका तर्फबाट मर्जका लागि कुनै पनि समस्या नभए पनि हिमालयन बैंकले मर्ज सम्झौता तोडेकोको इन्भेष्टमेन्ट सीईओ ज्योति पाण्डेले बताए । ’हाम्रो तर्फबाट कुनै पनि समस्या थिएन । हिमालयन बैंकको साधारणसभाले मर्जसम्बन्धी नीति पास नगर्नु दुःखद हो,’ उनले भने । मर्ज प्रकृया अगाडि बढाउनका लागि दुबै बैंकले करिब ३ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको बताइएको छ ।
डिमर्जसम्बन्धी जानकारी नआएको तर बाहिर हल्ला सुनेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । ‘राष्ट्र बैंकमा डिमर्जसम्बन्धी कुनै पनि जानकारी आएको छैन’,मिश्रले भने’ यदि त्यस्तो भएको रहेछ भने मर्ज विनियमावलीनुसार कारवाही प्रकृया अगाडि बढ्छ । ’