काठमाडाैं । महालक्ष्मी विकास बैंकले रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्न मोडर्न रेमिट्यान्ससँग सम्झौता गरेको छ ।
बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिटान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि ग्राहकले नेपाल तथा विश्वका विभिन्न स्थानहरुबाट आएको रकम देशैभरका महालक्ष्मी विकास बैंकका शाखामार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।
यस्तै बैंकका ग्राहकले संसारको कुनै पनि कुनाबाट मोडर्न रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मासमेत गर्न सक्नेछन् ।
बैकले हालसम्म २७ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकलाई रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ । साथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने गरी मुद्दती योजना सञ्चालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भनीकन चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स र डलर कार्ड जारी गरिसकेको छ ।