काठमाडौं । लामो प्रयासपछि नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । एक्वायरका लागि नबिल र एनबी बैंकबीच बिहीबार साँझ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
एमओयूमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक तथा सञ्चालक उदयकृष्ण उपाध्याय र एनबीका सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् । नबिलले प्रति सेयर ४३ रुपैयाँमा एनबीलाई समाहित गर्ने भएको हो ।
लामो समयको औपचारिक र अनौपचारिक छलफलपछि दुबै बैंक एक्वायरका लागि एमओयू गर्ने अवस्थामा पुगेका हुन । एमओयू गर्दैमा मर्जर तथा प्राप्ति प्रक्रिया सफल हुन्छ भन्ने छैन । यो प्रारम्भीक सम्झौता मात्र हो ।
दुबै संस्थाबीच २ बर्षअघिबाटै मर्जका लागि पहल सुरु भएको हो । एनबी बैंकमा रहेको बंगलादेशको आइएफआइसी बैंकको ४१.९२ प्रतिशत संस्थापक सेयर उद्योगपति विनोद चौधरीका श्रीमति सारिकाको नाममा किन्ने टुंगो लागेपछि दुबै बैंकबीच समाहितको प्रक्रिया अघि बढेको हो ।
यद्यपी मुद्धा परेपछि जिल्ला अदालत काठमाडौले सेयर खरिदबिक्री प्रक्रियालाई रोक्न अन्तरिम आदेश दिएको छ । विनोदले आईएफआईसीको स्वामित्वमा रहेको एनबीको सेयर प्रतिकित्ता १५७ रुपैयाँमा किन्ने सहमति गरेका छन् । एनबीलाई नबिलमा समाहित गर्ने प्रतिवद्धता जनाएपछि नेपाल राष्ट्र बैंकले चौधरीलाई सेयर किन्न अनुमति दिएको हो ।
बुधबार र बिहीबार बसेको मर्ज समितिले एमओयूको टुंगो लगाएको थियो । नबिलको अहिले चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । बैंकको पुस ३० गते शुक्रबारको साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि चुक्ता पुँजी बढेर बढेर १८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।
यस्तै एनबी बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । मंसिर २ गतेको साधारणसभाले १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेपछि एनबीको चुक्ता पुँजी बढेको हो । नबिल बैंकले गतवर्ष युनाइटेड फाइनान्सलाई प्रतिसेयर ३५ रुपैयाँमा समाहित गरेको थियो । युनाइटेडमा चौधरी ग्रुपको बहुमत स्वामित्व थियो ।
स्थापनाकालदेखि नै आफ्नो हिसावमा चलेको नबिलले व्यवसाय बढाउन मर्जर तथा एक्विजेसनमा प्राथमिकता दिएको हो । नबिल बैंकको बोनस सेयर दिएपछि चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।
यसअघि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जका लागि नबिलको कुराकानी भएको थियो । मूल्यलगायत धेरै प्रक्रियामा कुरा नमिलेपछि मर्जरको प्रक्रिया अवरुद्ध भएको थियो ।
ग्लोबल आईएमई बैंकले जनतालाई समाहित गरेपछि नबिललाई मर्जमा जान दबाब परेका थियो । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया अघि बढेपछि नबिललाई झनै दबाब बढ्यो र समाहितका लागि एमओयूसम्मको अवस्थामा आएको छ ।