काठमाडौं । चालू वार्षिक विन्दुगत आधारमा २०७८ मंसिर मसान्तसम्मा कुल आन्तरिक कर्जा २८.५ प्रतिशतले बढेको छ । आर्थिक वर्षको पहिलो ५ महिनामा कुल आन्तरिक कर्जा ७.१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ६.१ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिका यस्तो दाबी ७.९ प्रतिशत रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३०.२ प्रतिशतले बढेको छ । यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने चालू आर्थिक वर्षको मंसिरसम्मा १५.९ प्रतिशतले बढेको छ ।
यसैगरी समीक्षा अवधिमा बैंक वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढदा वार्षिक विन्दुगत आधारमा ३१.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १० प्रतिशत, विकास बैंकको १२.३ प्रतिशत र वित्त कम्पनीले १७.५ प्रतिशतले कर्जा प्रवाह बढेको छ । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितो र १२.४ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष धितोमा प्रवाह भएको कर्जा ६६.३ प्रतिशत र चालू सम्पत्तिमा १२.१ प्रतिशत कर्जा प्रवाह भएको थियो । चालू आर्थिक वर्षको पाँच महिनामा बैंक वित्तीय संस्थाहरुले लगानीमा रहेका कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशत, सञ्चार तथा सार्वजनिक सेवातर्फको कर्जा ५.८ प्रतिशत, थोक तथा खुद्रा व्यपार क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशत र सेवा उद्योगतर्फको कर्जा ४.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशत, ओभरड्राफ्ट कर्जा १७.२ प्रतिशत, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा ५.४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवससीय घर कर्जा समेत) ८ प्रतिशत, चालू पुँजी कर्जा ५.४ प्रतिशत, र हायर पर्चेज कर्जा ५.१ प्रतिशतले बढेको छ । यसैगरी सेयर बजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा भने ५.३ प्रतिशतले घटेको छ ।