भारतको पुरानो औद्योगिक घराना टाटा ग्रुप अब इन्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) हुने भएको छ ।
नुनदेखि ट्रकसम्म बनाउँदै आइरहेको टाटा ग्रुपले आईपीएलको आगामी संस्करण (२०२२) देखि टाइटल स्पोन्सर गर्ने भएको छ । यसअघि चीनको मेनुफ्याक्चरिङ कम्पनी भिभोले स्पोन्सर गर्दै आइरहेको थियो । त्यो स्थान अब टाटाले लिने पक्कापक्की भएको छ ।
भारतमा क्रिकेट पपुलर गेम मानिन्छ । त्यहाँका मानिसले यसलाई धर्मझैं मान्छन् । भारतबाहेक बंगलादेश, पाकिस्तान र श्रीलंकाजस्ता देशमा पनि क्रिकेटका करोडौं फलोअर्स छन् ।
घर–घरमा भिभाेको ब्रान्डिङ
पछिल्ला केही वर्षदेखि आईपीएलको मुख्य स्पोन्सर भिभोको लोकप्रियता घर–घरमा बढेको छ । यस्तै देशका कैयौं दूरदराजका बच्चाहरुले पनि भिभो भन्नासाथ मोबाइल भन्ने बुझ्छन् ।
साहराले बनाएको परिचय
यसअघि बोर्ड फर कन्ट्रोल अफ क्रिकेट इन इन्डिया (बीसीसीआई) को स्पोन्सरका रुपमा साहरा ग्रुप थियो । साहराको प्रसिद्धि पनि यही“बाट चुलिएको थियो । साहरा ग्रुप भनेपछि नचिन्ने मान्छे कमै थिए ।
आईपीएलको चौथो स्पोन्सर
आगामी आईपीएलको स्पोन्सर बन्ने टाटा ग्रुप चौथो स्पोन्सर हो । यसअघि रियल्टी कम्पनी डीएलएफ, पेप्सी, भिबो र ड्रिम ११ टाइटल स्पोन्सर बनिसकेका छन् । टाटा स्पोन्सर बन्दा बीसीसीआईलाई २ अर्ब रूपैयाँ फाइदा हुने आशा छ ।
चीनसँगको विवादपछि भिभो हट्यो
भिभोले सन् २०१८ देखि २०२२ सम्म आईपीएलको टाइटल स्पोन्सरसिप ३५ अर्ब २० करोडमा किनेको थियो । तर, २०२० मा भारत–चीन सीमा गलवानमा भएको सैन्य टकरावपछि भिभोमाथि स्पोन्सरसिपबाट हट्नुपर्ने दबाब बढ्यो । आईपीएल २०२० मा एक वर्ष स्पोन्सर गरेन भिभोले । त्यसको ठाउँमा ड्रिम ११ मुख्य प्रायोजक बन्यो । त्यसपछि २०२१ मा पुनः भिभो नै फर्कियो ।
युवाको रोजाइमा टाटा
भारतीय त्यसै त युवाहरु क्रिकेट–क्रेजी छन् । त्यसमा झन् आईपीएलप्रति उनीहरुको छुट्टै लगाव छ । अब आईपीएलको स्पोन्सर टाटा बनेपछि देशका कुना–कुनाका मानिसमा टाटा पुग्नेछ । यस कम्पनीको ब्रान्डिङ र ब्रान्ड भ्यालुको रुपमा फाइदा हुने विश्वास छ ।
टाटाको सहयोगले बीसीसीआईलाई फाइदा
टाटा ग्रुपले विगत एक शताब्दीदेखि भारतलाई चिनाइरहेको छ । विश्वका १०० देशमा यसको कारोबार छ । बीसीसीआईका अनुसार टाटाको क्रिकेटको भावनालाई अन्तर्राष्ट्रिय जगत्मा फैलाउन सहयोग गर्नेछ । बीसीसीआईले यसलाई स्पोटिंग फ्रेन्चाइजीको रूपमा लोकप्रिय बनाउने कोसिस गरिरहेको छ । र, यस्तो अवस्थामा टाटाले उसलाई सहयोग गर्न सक्नेछ ।
विवादबाट बच्ने कोसिस
२०२० मा गलवानमा भएको सैन्य टकरावपछि बीसीसीआईमाथि चिनियाँ कम्पनी भिभोलाई आईपीएलको स्पोन्सरसिपबाट हटाउनुपर्ने दबाब थियो । यस्तोमा स्वयम् भिभो नै स्पोन्सर नगर्ने भन्दै पछाडि हट्यो । भिभोको बहिर्गमनपछि ड्रिम ११ नामक एक कम्पनी आईपीएलको स्पोन्सर बन्यो ।
तर, अब टाटा ग्रुप टाइटल स्पोन्सर बन्ने भएपछि कुनै विवाद सिर्जना नहुने बुझिएको छ ।