काठमाडौं । सरकार स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लगानी संरचनामा परिवर्तन गरेको छ ।
जलविद्युत्मा ऋण लगानी गर्दै आएको कम्पनी अब स्वपुँजी (इक्विटी) मा केन्द्रित हुने भएको छ । जलविद्युत् विकासमा रहेको अहिलेको ऋण लगानीको भूमिकालाई घटाएर वित्तीय लगानीमा केन्द्रित हुन थालेको हो ।
कम्पनीको हालै सम्पन्न १० औं वार्षिक साधारणसभाले लगानी संरचनामा परिवर्तनको प्रस्तावलाई पारित गरेको छ । जसअनुसार अब एचआईडीसीएलले जलविद्युत्मा न्यूनतम ४५ देखि अधिकतम ६५ प्रतिशतसम्म सेयर लगानी गर्ने भएको छ ।
यस्तै जलविद्युत्मा ऋण लगानी घटाएर ३५ देखि ५५ प्रतिशतमा झारेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले बताए । ऋण लगानीभन्दा अब जलविद्युत्को सेयर लगानीमा केन्द्रित हुने उनले स्पष्ट पारे ।
हाल कम्पनीले जलविद्युतमा ऋण लगानी गर्दै आएको छ । आगामी ४ वर्षमा कम्पनीले ६ हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुमा सेयर पुँजी र ऋण गरी कुल १ खर्ब रुपैयाँ लगानीको प्रतिबद्धता व्यक्त गरेको छ । एक दशकमा न्यूनतम १ खर्ब ५० अर्ब रुपैयाँ जलविद्युतमा लगानी वृद्धि गर्ने योजना छ ।
सीईओ गौतमका अनुसार एचआईडीसीएलले एउटा जलविद्युत आयोजनामा २० प्रतिशत सेयर लगानी गर्ने भएको छ । यस्तै आयोजनाको कुल लागतको २५ प्रतिशत मात्र ऋण लगानी गर्ने गरी लगानी नियममा परिवर्तन गरेको छ । यद्यपि एचआईडीसीएलको सहायक कम्पनी र सरकार स्वामित्वको जलविद्युत् आयोजनामा यो नीति लागू नहुने उनले स्पष्ट पारे । निजी क्षेत्रले बनाउन सबै आयोजनामा नयाँ नियम लागू हुने भएको छ ।
ऋणमा भन्दा इक्विटी लगानीमा बढी प्रतिफल आउने भएकाले आयोजनामा ऋण लगानीको अनुपात घटाएको सीईओ गौतमको भनाइ छ । ऋण लगानीमा जोखिम बढी हुनुका साथै ब्याज आम्दानीबाट सरकारलाई ३० प्रतिशत आयकर बुझाउनुपर्ने तर इक्विटी लगानीबाट प्राप्त हुने प्रतिफलको ५ प्रतिशत लाभांश कर तिरे पुग्ने भएपछि कम्पनीले ऋणभन्दा इक्विटीमा बढी जोड दिएको उनले बताए ।
‘५ वर्षअघि यो नीतिमा गएको भए आजको दिनमा लगानीकर्तालाई १५ प्रतिशत माथि लाभांश पाउने अवस्था थियो’ उनले भने, ‘तर, ऋणमा लगानी गर्ने भएपछि सेयरधनीलाई दिने प्रतिफल कम भएको हो ।’
हालसम्म कम्पनीले सेयरधनीलाई १० प्रतिशतसम्म मात्र लाभांश दिएको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभाले पारित गरिसकेको छ । यो बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी बढेर साढे २३ अर्ब रुपैयाँ पग्नेछ ।
कम्पनीले २५ मेगावाटको लुम्बिनी भिजन ऊर्जामा ५० करोड र ५३ मेगावाटको आयोजना निर्माण गर्न लागेको भिजन लुम्बिनीमा ५० करोड रुपैयाँ इक्विटी लगानी गरेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय आयोजनामा २० प्रतिशतसम्म इक्विटी लगानी गर्ने भएको छ । विकासको भूमिकालाई घटाएर सीधै आयोजनामा स्वपुँजी साझेदार (इक्विटी पार्टनर) वा ऋण लगानीमा सहभागी हुने योजना कम्पनीको छ ।
अरूले विकास गर्न लागेका परियोजनामा लगानी गर्ने तर आफैंले परियोजना खोजेर अध्ययन गर्ने हिसाबले अघि नबढ्ने उनले बताए । कम्पनी आफैंले रेमिट हाइड्रो लिमिटेड स्थापना गरी घुन्सा र सिम्बुवा आयोजनाको अध्ययन अघि बढाएको छ । यसका लागि दुइटा सहायक कम्पनीसमेत स्थापना गरेको छ ।
एचआईडीसीएलले ७५६ मेगावाटको तमोर जलाशय र १५६ मेगावाटको माडी आयोजना पावर चाइनासँगको साझेदारीमा अघि बढाउन अहिले संयुक्त रुपमा अध्ययनको काम भइरहेको छ । विद्युत् उत्पादन कम्पनी, राष्ट्रिय ग्रिड कम्पनी र नेपाल विद्युत् प्राधिकरणलगायत अन्य निजी र विदेशी लगानीकर्ताले अध्ययन सम्पन्न गरेका आयोजनामा सेयर पुँजी र ऋण लगानी गर्ने उनले बताए ।
यस्तै एचआईडीसीएलले लगानी विस्तार गरी सोलार र बायोग्यासजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्ने भएको छ । कम्पनीले अब २५ मेगावाटभन्दा ठूला आयोजनामा मात्र ऋण लगानी गर्ने भएको छ ।