काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि राजनीतिक दलहरुबीचको भागबन्डामा सर्वसम्मत गराउने प्रयास असफल भएपछि कोभिडको बाहना देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।
राजनीतिक निकटका व्यवसायी संघहरुबीच सहमति बेगर माओवादी निकट मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाले अध्यक्षमा दावेदारी दिएपछि निर्वाचन प्रक्रियानै भाडिएको हो । व्यवसायीहरुबीचको सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पाउने निश्चित भएको थियो ।
एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रथम उपाध्यक्ष, तीनजना सदस्य र एकजना सल्लाहकार, माओवादी निकटको नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले द्वितीय उपाध्यक्ष, तीन जना सदस्य, एक जना सल्लाहकार, एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव, तीनजना सदस्य र एकजना सल्लाहकार पाउने तथा समाजवादी फोरम निकट संघले तृतीय उपाध्यक्ष, एक जना सदस्य र एक जना सल्लाहकार लिने गरी भागबन्डामा सहमति भएको थियो ।
तर, माओवादी निकट भान्तनाले अध्यक्षको दाबी नछोडेपछि तत्कालका लागि निर्वाचन स्थगित गरिएको बताइएको छ । यता संघका महासचिव सुजितकुमार श्रेष्ठले कोभिडको विषम परिस्थिति भएकाले सर्वसहमतिको प्रयास गरिएको बताउँदै असहज अवस्थामा निर्वाचन गर्न सम्भव नभएकाले तत्कालका लागि निर्वाचन रोकिएको जानकारी दिए ।
निर्वाचन समितिले भने मंगलबार दिउँसो २ बजेदेखि बुधबार बिहान १२ बजेसम्म उम्मेदवारी फिर्ता र सहमतिका लागि समय दिएको थियो ।