काठमाडौं । तीन दिन लगातार बढेको बजारमा बुधबार नाफा बुक गर्न खोज्दा सेयर बजार घटेको छ । आइतबार, सोमबार र मंगलबार लगातार बजार बढेपछि बुधबार लगानीकर्ताले नाफा बुक गर्दा बजार प्रभावित बनेको हो ।
सेयर बजारमा नाफा बुक गर्ने क्रम चलिरहन्छ । नाफा बुक गर्ने गर्नु पनि पर्छ । आइतबार सेयर किनेका लगानीकर्ताको खातामा बुधबारसम्म सेयर आइसक्ने कानुनी व्यवस्था छ । उनीहरुले तीन दिनको बीचमा उच्चतम प्रतिफल लिएर नाफा बुक गरेका छन् । जसको कारण बुधबारको सेयर बजार दोहोरो अंकले घटेको हो ।
लगातार बजार बढ्दा नाफा बुक गर्न लगानीकर्ता जहिले पनि सक्रिय हुन्छन् । यसलाई अन्यथा मान्न हुँदैन । सेयर किन्नेभन्दा बेच्ने बढी हुँदा कहिलेकाहीँ बजार ओरालो लाग्न सक्छ । तर, त्यो क्षणिक मात्रै हो ।
अहिले बजारमा तेजी आइरहेको छ । यो साताको तीन दिन लगातार बजारमा तेजी देखिएको छ । तर, बुधबार खरिदकर्ताभन्दा बिक्रीकर्ताको चाप बढी भएकाले बजार घट्न पुगेको हो ।
अहिले बैंकमा लगानी योग्य रकम बढ्दै गएको छ । बैंकहरु लगानीकर्तालाई बोलाएर ऋण दिन थालिसकेका छन् । खासगरी साना लगानीकर्तालाई उनीहरु २० देखि ५० लाख रुपैयाँसम्म ऋण लिनका लागि बैंकले आह्वान गरेको अवस्था छ ।
त्यसैगरी, सरकार र केन्द्रीय बैंक मिलेर तरलता अभावको समस्यालाई सल्ट्याउने प्रयास गरेका छन् । त्यसको सकारात्मक असर बजारमा देखिन थालेको छ ।
बजार घट्दा पनि बुधबार पनि समस्याग्रस्तबाट भरखरै उठेको कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेर कारोबार भएको छ । त्यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंकमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । यसको पनि १० प्रतिशतले मूल्य बढेर सर्किट लागेर कारोबार भएको छ । अघिल्लो हप्ताबाट कारोबार सुरु भएको मध्ये भोटेकोसीको मूल्य पनि १० प्रतिशतले बढेको छ ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन बन्दाबन्दी गर्न सक्ने हल्ला फैल्याएर बजार बढाइरहेका छन् । अहिले सेयर बजारलाई तेजी बनाउन विभिन्न तत्वले काम गरेको देखिन्छ । एकातिर बैंकमा लगानीयोग्य रकम बढ्दै जानु, सरकारले लकडाउन गर्ने हल्ला चलाइनुलगायत छन् ।
लगातार तीन दिन बढेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ३०.५१ अंकले घटेर २८०३.६२ अंकमा आइपुगेको छ । तर, यसदिन कारोबार रकमले भने साथ दिएको छ । सूचक घट्दा पनि कारोबार रकम बढ्नुलाई राम्रो मानिन्छ ।
बुधबार ८ अर्ब रुपैयाँ कारोबार भएको छ । जबकि मंगलबार ६ अर्ब ७२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बुधबारको कारोबार पछिल्लो केही दिन यताकै उच्च हो ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार अर्थतन्त्रको अभिन्न अंग भएको अभिव्यक्ति दिएपछि बजारमा तेजी आएको हो । बुधबार सबैभन्दा बढी कारोबार नेपाल बंगलादेशको भएको छ । यस कम्पनीको २८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घट्दो बजारमा सबैभन्दा बढी मूल्य हिमालयन पावर पार्टनरको घटेको छ । यसको ६.२१ प्रतिशतले मूल्य घटेर कारोबार रोकिएको छ ।