काठमाडौं । साताको तेस्रो दिन मंगलबार समस्याग्रस्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । भरखरै समस्याबाट मुक्त भएका कम्पनीको सेयर मूल्य मंगलबार १० प्रतिशत बढेर कारोबार भएको छ ।
यसदिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेर कारोबार भएको छ । यी सबै कम्पनी समस्याग्रस्तबाट भरखरै मात्रै उक्लिएका हुन् ।
यी बाहेकका अन्य कम्पनीको मूल्यमा पनि वृद्धि देखिएको छ । विगत केही समयदेखि सेयर बजार बढ्दो क्रममै छ । पछिल्लो अर्थमन्त्री जनार्दन शर्मा, केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारका बारेमा सकारात्मक कुरा गरेपछि बजार बढिरहेको छ । त्यसका अलवा चर्किँदो तरलता अभावलाई पनि केन्द्रीय बैंकले विस्तारै हल गर्दै लगेकाले पनि बजारमा हरियाली छाएको हो ।
अहिले बैंकहरुले ५० लाख रुपैयाँसम्म सेयर कर्जा दिन सक्षम रहेको भन्दै सेयर लगानीकर्तालाई बोलाउन थालेका छन् । यसले सेयर कर्जामा बैंकहरु विस्तारै फर्किन थालेको देखाउँछ । यसैका कारण लगानीकर्तामा तरलता अभावको समस्या हल भएको भन्ने परेको र बजारमा हरियाली छाएको हो ।
यस्तै, यतिबेला विश्वभर कोरोना संक्रमण बढ्न थालेको छ । छिमेकी भारत र हामीकहाँबाट कोरोना संक्रमण बढ्दो क्रममा छ । यसले फेरि अर्थतन्त्रका अरु क्षेत्रहरुमा शिथिलता आउने देखिएको छ । तर, सेयर बजारमा भने यसको सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ । किन भने वित्तीय प्रणालीमा क्रमशः तरलता सहज हुँदै जानेछ । यस्तै, पुस अन्तिमसँगै सरकारी खर्चहरुमा पनि वृद्धि हुन थालेको छ ।
यसले पनि तरलता अवस्था सहज पार्न सहयो पुग्ने अपेक्षा गरिएको छ । यस्तै, स्थानीय निकायको निर्वाचन मिति पनि नजिक आइसकेको छ । चुनावका कारण पनि तरलता थप सहज हुने अनुमान गर्न सकिन्छ । यसअघि बजारमा भारी गिरावट आउँदा मूल्य निकै सस्तो भएकाले पनि लगानीकर्ताहरु सस्तो मूल्यमा खरिद गर्न आकर्षित भएको अनुमान गरिएको छ ।
बजारले गति लिने संकेतहरु देखिएपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै प्रकारका लगानीकर्ता उत्साहित हुँदा नेप्सेले क्रमशः उचाइ लिएको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१९ अंकले बढेर २८३४.१३ बिन्दुमा पुगेको छ । यसदिन कारोबार रकम भने ६ अर्ब ७२ करोड रुपैयाँ मात्रै भएको छ । सोमबार ७ अर्ब बढी कारोबार भएको थियो ।
मंगलबार १७० कम्पनीको मूल्य बढ्यो भने १९ कम्पनीका लगानीकर्ताले गुमाए । मंगलबार सबैभन्दा बढी कारोबार अपी पावरको १६ करोड ८३ लाख रुपैयाँ छ । त्यसैगरी सबैभन्दा बढी मूल्य माउन्टेन इनर्जीको ३.५२ प्रतिशत घटेको छ ।