काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीव्र उतारचढाव देखिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव विस्तार भएर कोरोना संक्रमितको संख्या दैनिक एक हजारमाथि चढेपछि सरकारले सतर्कता अपनाउन थालेको छ ।
कोरोनाबाट सुरक्षित रहन स्मार्ट लकडाउनसम्मको तयारी गर्दै माघ १५ सम्म विद्यालय बन्द गर्ने, सिनेमा हल, होटल तथा रेष्टुराँ, पार्क, सरकारी कार्यालय जाँदा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने नीति अघि सारेपछि आइतबार सेयर बजारमा उछाल आएको थियो । त्यति मात्रै होइन, लामो समयपछि सेयर बजारमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
त्यसले लगानीकर्तामा उत्साह आएको अनुमान गरिएको छ । कोरोना कहर बढ्दै गए अन्य क्षेत्रको लगानी खुम्चिने र सबैका लागि लगानी गर्ने एकमात्र क्षेत्र सेयर बजार हुने भन्दै लगानीकर्ताले बजार बढ्नुको विकल्प नरहेको बताउँदै आएका छन् ।
आइतबार २७६५ अंकमा रोकिएको सेयर बजार सूचक सोमबार प्रि कारोबारमै बढेर २७७२ पुगेको थियो । नियमित कारोबार पनि बजार बढ्न थालेको बजार सूचक १७ मिनेटमै घटेर सोमबारको न्यून बिन्दु २७५५ सम्म झर्यो । लगत्तै बढ्न थालेको बजारले अर्को १८ मिनेटमा सोमबारको उच्च २८०६.७४ सम्म पुग्यो । त्यसपछि घट्ने र बढ्ने क्रम समाउँदै बजारले अन्तिम समयमा १९.४३ अंकले बढेर २७८४.९५ अंकमा रोकिएको छ ।
सोमबार नेप्से सूचकको प्रवृत्ति केलाउँदा ४ वटा भी तयार गरेको देखिन्छ । सुरुवाती भी न्यून बिन्दुमा, दोस्रो भी उच्च बिन्दुमा, तेस्रो भी मध्य बिन्दुमा र अन्तिम भी सुरुवाती भीभन्दा केही माथि रहेकाले मंगलबार पनि बजार उकालो लाग्ने संकेत गरेको छ ।
खासगरी, लगानीका अन्य क्षेत्र खुम्चिएका बेला सबैको रोजाइ सेयर बजारमै हुने, केही दिनपछि नै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने र अहिले यस्तो र उस्तो वित्तीय विवरण आउँदै छ भनेर चलाइएको अफवाह, बजारमा देखिएको तत्कालको तरलता सहजताको अवस्थाले सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ ।
त्यसलाई कारोबार रकम पनि साथ दिएको छ । आइतबार ७ अर्ब १ करोड कारोबार भएकोमा सोमबार ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । यद्यपि, यो रकम नेप्से अध्यावधिक हुँदा सामान्य हेरफेर हुनसक्छ ।
सोमबार सेयर बजार बढाउन १११ कम्पनीले भूमिका खेलेका छन् । त्यसमध्ये अघिल्लो सातादेखि कारोबार खुलेको मध्य भोटेकोसीको १० प्रतिशतले मूल्य बढेर बन्द भएको छ भने युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सकारात्मक सर्किट नजिक पुगेर बन्द भएको छ ।
सोमबार बढेको बजारमा पनि जलविद्युत् कम्पनीहरुको वर्चश्व देखिन्छ र उच्च १० करोबारमध्ये ६ वटा जलविद्युत कम्पनी छन् । सोमबार १२ समूह सूचकमध्ये बैंकिङ, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधनमूलक समूहमा गिरावट आएको छ भने अन्य समूह सूचक सबै बढेका छन् ।
सोमबार ७० कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य स्थिर देखिन्छ । सोमबार सबैभन्दा धेरै चन्द्रागिरिको करिब ३ प्रतिशतले मूल्य घटेको छ । उता गोर्खाज फाइनान्सको बढी सेयर किनबेच भएको छ । १४ कम्पनीको १० करोडभन्दा बढीको कारोबार हुँदा गोर्खाजको २२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।