काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ज्येष्ठ नागरिकलाई सूचना प्रविधि प्रयोगसम्बन्धी प्रशिक्षण दिने भएको छ ।
प्राधिकरणले ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई प्रविधि उपकरण तथा दूरसञ्चार सेवासम्बन्धी आधारभूत प्रशिक्षण दिने तयारी गरेको हो ।
२०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा ८.१३ प्रतिशत ज्येष्ठ नागरिकहरुसँग सूचना प्रविधि तथा दूरसञ्जार उपकरण प्रयोगहरुको आधारभूत ज्ञान छैन ।
डिजिटल साक्षरताको माध्यमबाट नेपाल सरकारको डिजिटल नेपालको सपनालाई सहयोग पुर्याउन प्राधिकणले प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको हो ।
‘परम्परागत रुढीवादी मान्यताका कारण हाम्रा अधिकांश ज्येष्ठ नागरिकहरु निरक्षर छन् ।
नेपालीहरुको औसत जीवन आयु बढेको कारणले त्यस्ता ज्येष्ठ नागरिकहरुको संख्या एकदमै धेरै बढेको छ । जनसंख्याको महत्वपूर्ण यो हिस्सालाई डिजिटल साक्षरता प्रदान गर्न सकेनौं भने डिजिटल नेपालको हाम्रो सपना दिगो र पूर्ण हुन सक्दैन,’ प्राधिकरणले भनेको छ ।
डिजिटल साक्षरता प्राप्त भइसकेपछि ज्येष्ठ नागरिकले पनि अन्य उमेर समूहका नागरिकले जसरी सूचना प्रविधिका उपकरणलाई उपयोगी तथा मनोरञ्जन प्रयोजनका लागि प्रयोग गर्न सक्ने प्राधिकरणको विश्वास छ ।
जसअन्तर्गत प्राधिकरणले ज्येष्ठ नागरिकहरुलाई दैनिक जीवनमा प्रयोग हुने दूरसञ्चार सेवा तथा प्राविधिक उपकरण प्रयोगका बारेमा सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।
प्रशिक्षण कार्यक्रममा इन्टरनेटको प्रयोग, वेब ब्राउजर, मोबाइल बैंकिङ सेवा, नागरिक एप तथा सरकारले ल्याएका विभिन्न नागरिक सेवामुखी एपहरुको प्रयोग गर्न सिकाइनेछ । उक्त कार्यक्रम प्रत्येक प्रदेशमा ३० दिन सञ्चालन हुनेछ । प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न परामर्शदाताका लागि प्राधिकरणले बोलपत्र आह्वान गरेको छ ।