वालिङ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य ऊर्जा जडान गरिएको छ ।
विद्युत आपूर्तिमा पटक पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले यूएनडीपी नेपालको ४० लाख रुपैयाँको लागतमा सौर्य ऊर्जा जडान गरिएको यूएनडीपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले जानकारी दिए ।
“अस्पताल जस्तो संवेदनशील ठाउँमा विद्युतसम्बन्धी समस्या अन्त्य गर्दै सहज रूपमा उपचार गर्नका लागि सौर्य उर्जा जडानमा सहयोग गरेका हौं”, उनले भने, “यसले आगामी दिनमा सेवा प्रवाहमा सहजता ल्याउनुका साथै वैकल्पिक ऊर्जाको प्रयोगले कार्बन उत्सर्जनमासमेत नियन्त्रण भई वातावरण संरक्षणमा सहयोग पुग्नेछ ।”
अस्पतालमा १० केभिए क्षमताको ३० वटा सौर्य ऊर्जा प्यानल जडान गरिएको छ । कोभिड– १९ का समयमा आइसोलेसन सेन्टरका रूपमा रहेको यस अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने गरी तयारी भइरहेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताए।
“विद्युतको वैकल्पिक व्यवस्थापनका लागि यूएनडीपी नेपाललाई सहयोगका लागि अनुरोध गर्यौं”, उनले भने, “स्थान हामीले दियौं र युएनडिपी नेपालकै सम्पूर्ण लागतमा १० केभिए क्षमताको सौर्य ऊर्जा जडान भएको हो ।”
अस्पतालले अब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको डाइलोसिस सेवाका लागि सौर्य ऊर्जाले सहयोग पुग्ने विश्वास नगर प्रमुख खनालको छ । जिल्लाको मध्यभाग र सिद्धार्थ राजमार्गको नजिकै भएकाले पनि यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने तयारीसहित अगाडि बढेको उनले बताए।
सो अस्पतालमा सूर्योदय ऊर्जा प्रालिले सौर्य ऊर्जा जडान गरेको हो । जिल्लाको मध्यभाग भीरकोट नगरपालिका–१ हेलुमा अवस्थित भीरकोट नगर अस्पतालमा एकसय शय्या रहे पनि हाल ५० शय्याको स्वीकृति लिएर सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का समयमा यस अस्पताललाई आइसोलेसन सेन्टरको रुपमा प्रयोगमा ल्याइएको थियो ।
अस्पतालमा हाल दैनिक ५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले जानकारी दिए । अस्पतालमा हाल चिकित्सकसहित २३ स्वास्थ्यकर्मी कार्यरत छन् । रासस