अस्ट्रेलियाली एक नागरिक यति बेला इजरायलमा फसिरहेका छन् । उनी फस्नुको कारण डिभोर्स (सम्बन्धविच्छेद) हो । इजरायलको अनौठो कानुनका कारण उनलाई त्यहाँको अदालतले सन् ९९९९ सम्म इजरालय छाड्न प्रतिबन्ध लगाएको छ ।
४४ वर्षीय हुप्पर्टले या त बच्चाहरुको पालनपोषणका लागि झन्डै ३० करोड रुपैयाँ भर्र्नुपर्ने हुन्छ । अन्यथा ३१ डिसेम्बर ९९९९ सम्म उनले इजरायल छाड्न पाउने छैनन् ।
हुप्पर्ट सन् २०१२ मा आफ्ना बच्चाहरुसँग बस्न भनेर इजरायल पुगेका थिए । यसको एक वर्षपहिले नै उनकी श्रीमती इजरायलमा बस्दै आएकी थिइन् । त्यसपछि हुप्पर्ट पत्नीले अदालतमा डिभोर्सको मुद्दा दायर गरिन् ।
सन् २०१३ मा इजरायलको अदालतले हुप्पर्टलाई देश छाड्न प्रतिबन्ध लगाएको थियो । साथै प्रत्येक महिना ५ हजार इजरायली मुद्रा भविष्यको कर्जाका रुपमा भर्नुपर्ने आदेशसमेत दिएको छ ।
कैयौं विदेशी इजरायली कानुनको सिकार
हुप्पर्टका बच्चाहरु १८ वर्ष नपुग्दासम्म उनले मासिक खर्च भर्नुपर्नेछ । यसको अर्थ यही हुन्छ कि, छुट्टी होस् या काम, कुनै पनि कारणले उनले देश छाड्न पाउँदैनन् ।
एउटा समाचार एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘२०१३ बाट म यहाँ फसिरहेको छु । इजरायली कानुको सिकार हुनेहरुमध्ये एक म पनि हुँ ।’
इजरायली महिलासँग विवाह गरेका कारण यो स्थिति आएको हो । हुप्पर्ट एक औषधि कम्पनीका केमिस्ट हुन् । आफूजस्तै अन्य अस्ट्रेलियाली नागरिक पनि फस्न सक्ने भन्दै यो कुरा साझा गरेको उनको भनाइ छ ।
इजरायलमा डिभोर्सको कानुन महँगो छ । महिलामैत्री कानुन भएकाले गर्दा महिलाले चाहेमा पुरुषलाई आजीवन यात्रामा प्रतिबन्धसमेत लगाउन सक्छन् । ताकि भविष्यमा आफ्ना सन्तान पालनपोषण गर्न आवश्यक पर्ने खर्च मिलिरहोस् ।
अब हुप्पर्टले २१ दिनसम्म जेलको हावा खानुपर्नेछ । यस्तै आफ्नो कमाइ शतप्रतिशत रकम पनि बच्चाका लागि दिनुपर्नेछ ।