काठमाडौं । झट्ट सुन्दा पत्याउनै गाह्रो । धेरैले सुन्नेबित्तिकै सिधै भन्छन्, ‘वाहियात ! यस्ता नचाहिने कुरा कसले सुनाउँछन् यिनीहरूलाई ।’
हो, अहिले नेपालको वित्तीय क्षेत्रमा भएकाे गतिविधि उस्तै र पत्याउनै नसकिने खालको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा तिर्नुपर्ने बैंक तथा वित्तीय संस्थाको ब्याज र सरकारलाई तिर्नुपर्ने अग्रिम आयकर कतिपय साना तथा मझौला व्यवसायीले क्रेडिट कार्डबाट झिकेर तिर्न थालेका छन् भन्दा पत्याउन मुस्किल हुन्छ । तर, नपत्याइ सुखै छैन ।
क्रेडिट कार्डको प्रयोग र त्यसको उपादेयता फरक छ । तर, अहिले साना व्यवसायीले त्यही क्रेडिट कार्डलाई फरक ढंगमा प्रयोग गरिरहेका छन् । क्रेडिट कार्डबाट नगद झिक्दा ब्याजदर अधिक पर्न आउँछ । तर, जति नै ब्याजदर लागे पनि कर र ब्याज तिर्न क्रेडिट कार्डमार्फत नगद झिक्ने क्रम बढ्दो छ ।
जति जति पुस छोटिँदै छ, त्यति त्यति साना तथा मझौला व्यवसायीहरू क्रेडिटबाट नगद झिक्न र गाउँघरमा ऋण पाइन्छ कि भनेर खोज्न व्यस्त छन् । खासगरी वित्तीय क्षेत्रमा देखिएको तरलता संकटले थप ऋण नपाउने अवस्था, विगतमा कोरोना संकटमा फस्दा पनि सुविधाबाट विमुुख भएको स्थिति र बजारबाट पैसा उठ्न नसकेका कारण व्यावसायिक निरन्तरता र थप समस्या झेल्नु नपरोस भन्नका लागि क्रेडिट कार्डबाट भए पनि पैसा झिक्न थालिएको व्यवसायीहरूले बताउन थालेका छन् ।
बारम्बारको वित्तीय संस्थाको ताकेता, ब्याज तिर्न ढिलाई हुँदा कालोसूचीमा परिने डर र समयमा कर नतिरे जरिवानामा परिने भयबाट मुुक्ति पाउन साना तथा मध्यम व्यवसायीले आफूसँग भएको क्रेडिट कार्डबाट पैसा झिकेर सरकारलाई राजस्व र बैंकलाई ब्याज बुझाउन थालेका हुन् । व्यापारमा देखिएको मन्दी र बढ्दो उधारो कारोबारको असर पुस मसान्तमा साना व्यवसायीले नराम्रोसँग भोगिरहेका छन् ।
कोभिड–१९ बाट साना तथा मझौला व्यवसायी सबैभन्दा बढी प्रभावित भएका थिए । उनीहरूलाई व्यवसायमा फर्काउन राज्यका कुनै पनि निकायले सकारात्मक प्रयास गरेका थिएनन् । बजेट र मौद्रिक नीतिले ल्याएको सहुलियत पनि ठूला उद्यम/व्यवसाय केन्द्रित थिए । जसको राज्य सत्तामा पहुँच थियो, उनीहरूले राज्यका विभिन्न निकायबाट सहुुलियत पाए । तर, साना व्यवसायी अरूले सुविधा पाए भनेर रमाउनुुको विकल्प थिएन ।
कोभिडबाट थलिएका साना व्यवसायी उक्सिने कोसिसमा रहे पनि पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको तरलता संकटले थप मारमा परे । त्यही भएर आफूसँग भएको क्रेडिट कार्डको ‘क्यास लिमिट’ निकालेर ब्याज तथा कर तिनुपर्ने अवस्थामा पुुगेका छन् । बजारमा नगद अभावको हल्ला चल्न थालेपछि साना व्यवसायी थप चिन्तित देखिएका छन् । यस्तै उनीहरूले ६ दिन कर र ब्याज तिर्ने समय भए पनि नगद अभावले समस्या भोग्नुुपर्ला भनेर बढी ब्याज तिर्नुपरे पनि अग्रिम नगद प्रयोग गर्न थालेका छन् ।
अहिले ठूला व्यवसायी मात्रै होइन धेरै जसो साना तथा मझौला व्यवसायीले पनि कुनै न कुनै बैंकको क्रेडिट कार्ड प्रयोग गर्ने गरेका छन् । सामान्यतया क्रेडिट कार्डबाट पैसा निकाले २० देखि २४ प्रतिशतसम्म ब्याज लाग्छ । तैपनि उनीहरूले तत्काल संकट टार्न महँगो ब्याजको प्रवाह नगरी क्रेटिड कार्डबाट पैसा झिकेरै भए पनि राज्यको ढुकुटी र बैंकको ब्याज भर्न थालेका हुन् ।
अर्थशास्त्री डा.डिल्लीराज खनालले अहिलेको परिस्थिति जटिल रहको बताए । ‘व्यवसायीले ब्याज र कर तिर्न क्रेडिट कार्डको प्रयोग गर्नुबाट नै मुलुकको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने देखिन्छ’ राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका खनालले भने, ‘कम्पनीलाई कालोसूचीबाट जोगाउनु र राज्यले लगाउने जरिवानाबाट बच्नु ठूलो कुरा हो । यस्तो कठिन अवस्थामा ब्याज महँगो वा सस्तो भन्ने हेरिँदैन, तत्कालको गर्जो टर्यो कि टरेन भन्ने महत्वपूर्ण हो ।’
खासगरी क्रेडिट कार्ड किनमेल (सपिङ) गर्न प्रयोग गरिन्छ । सामान्यतया क्रेटिड कार्डबाट पैसा निकालिँदैन । तर, आफ्नो कम्पनीको भविष्य नै गम्भीर संकटमा पर्ने अवस्था आएपछि अन्तिम विकल्पको रूपमा क्रेडिट कार्डको प्रयोग गर्ने गरिन्छ । बैंकहरूले व्यक्तिको आम्दानी हेरेर क्रेडिट कार्डको सुविधा उपलब्ध गराएका हुन्छन् । ठूला व्यापारीले बैंक र नियामकसम्म पहुँच राख्ने भएकाले पनि अरू उपायहरूको अवलम्बन गरेका हुन्छन् ।
ठूला व्यवसायीको दायित्व पनि धेरै हुने भएकाले क्रेडिट कार्डको क्षमताले भ्याउँदैन । बैंकहरूले क्रेडिट कार्ड आम्दानीका आधारमा जारी गर्ने गर्दछन् । हाल १० लाख रुपैयाँसम्मको क्रेडिट कार्ड बैंकहरूले जारी गरेको पाइन्छ । सामान्य अवस्थामा क्रेडिट सीमाको ६० प्रतिशतसम्म नगद झिक्न सकिन्छ ।