काठमाडौं । श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर काठमाडौं र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु, काठमाडौं एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहुउद्देयीय सहकारीका नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
शनिबार श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेडको २२ औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभालाई एकीकृत साधारणसभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमति पछि एकिकृत कारोबार सुरु गरिएको घोषणा गरियो ।
संयुक्त साधारणसभाले एकिकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरुले जुनसुकै सेवा केन्द्रबाट सेवा लिन सक्ने र भविष्यमा सेवा केन्द्रहरुको विस्तार गरी कार्यक्षेत्रको समेत विस्तार गर्ने, ट्याब्लेट बैंकिङको सुरुवात गर्ने र आधुनिक सूचना प्रविधिको प्रयोग गरी सदस्यहरुलाई मोवाईल बैंकिङ सेवा समेत प्रदान गर्ने योजना तय गरेको संस्थाका अध्यक्ष गोविन्द शर्माले बताए।
यसैगरी संस्थाले सदस्यहरुको लागि “जन्म देखि मृत्यु सम्म ॐ श्रीशान्ति सहकारी हरेक सदस्यको घरघरसम्म कार्यक्रम” अन्तर्गत सदस्य बिमा कार्यक्रमको सुरुवात गर्ने र संस्थाका सदस्यहरुलाई सुत्केरी भेटघाट कार्यक्रम अन्र्तगत महिला उपसमितिको समन्वयमा सदस्यहरु सुत्केरी हुँदा संस्थाबाट कपडा (लुगा) र १ हजार ५ सय रूपैयाँ भत्तासहित भेटघाट गरी बधाई ज्ञापन कार्यक्रम लागू गरिएको शर्माले बताए।
एकीकरणपश्चात संस्थाको विनियम पुनर्लेखन गर्ने, आन्तरीक नीतिहरु परिमार्जन गर्ने र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ बमोजिम संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणहरु अध्यावधिक गर्ने कार्य गरीरहेको शर्माले बताए।
अध्यक्ष शर्माले संस्थाको भावी कार्यक्रम र योजना अर्न्तगत समान प्रकृतिका संस्थाहरुसंग एकीकरण गर्ने, संस्थाको सेयर पुँजीको वृद्धि गरी ४ करोड पुर्याउने र निक्षेप वृद्धि गरी १४ करोड पुर्याउने र सदस्यहरुको वृद्धि गरी ४ हजार ५ सय पुर्याउने लक्ष पेश गरे।
साधारण सभाको उद्घाटन गर्दै कम्पनी रजिष्टार कार्यालयका प्रमुख प्रदिपराज अधिकारीले पुँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी बढाउन अनुरोध गर्दै समृद्धि र शान्ति सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।