काठमाडौं । नेपाल वायुसेवा निगमले जापानमा वार्षिक ३५ हजार यात्रु ओसार–पसार गर्ने लक्ष्य लिएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जापान उडानका लागि वार्षिक ४३ हजार सिट क्षमता रहेको बताए ।
निगमले १२ वर्षपछि भदौ १२ गतेबाट वाइडबडी जहाजमार्फत जापानको ओसाकाको नियमित उडान गरेको सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, राज्य मन्त्री धनबहादुर बुढा र मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यात्रुहरुलाई बोर्डिङ्ग पास दिइ बिदाई गरेका थिए ।
कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेपाल जापान उडान अनेकौं बाधाहरुका बावजुद सम्बन्धित सबै सरोकारवालाहरुको सकारात्मक सहयोगले सफलता प्राप्त गरेको बताउँदै सकारात्मक सुझाव र सहयोगले गर्दा निगम अन्य नयाँ गन्तव्य विस्तारतर्फ अग्रसर हुने उत्साह प्राप्त गरेको बताए । उनले सेवासहित नाफाको अपेक्षा निगमको रहेको र नाफा क्रमिक विकासको परिणाम हुँदै जाने बताए ।
निगमले हप्ताको तीन दिन बिहीबार, शनिवार र मंगलबार ओसाका उडान गर्नेछ । हाललाई निगमले प्रवद्र्र्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ । काठमाडौंबाट बिहान २ः३० बजे उडेको विमान ६ घण्टापछि स्थानीय समयअनुसार ११ः५५ बजे पुगेको थियो । उक्त विमान अपरान्ह ओसाकाबाट उडान गरी बिहीबार अपरान्ह ६ बजे काठमाडौं आइपुग्ने छ । पहिलो उडानमा काठमाडौं–ओसाकाबीच १ सय ४६ जना यात्रुले यात्रा गरेका थिए ।
नेपाल जापान सीधा उडानलाई थप व्यावसायिक प्रवद्र्धन गर्न सेप्टेम्बर महिनाभरि प्रत्येक उडानमा यात्रुहरुबीच गोलाप्रथा गराइनेछ र एक जनालाई उपहारस्वरुप नेपाल जापान उडानको एउटा टिकट निःशुल्क प्रदान गरिनेछ ।
निगमले आगामी पुसदेखि जापानको अर्को गन्तव्य टोकियोको नारिता विमानस्थलमा पनि उडान गर्नेछ । पहिलो उडानमा सीमित यात्रु संख्याको आधारमा भविष्यमा यात्रुहरु निरन्तर बढ्दै जाने अपेक्षा गरिएको छ ।