काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले सुनकोसी हाइड्रोपावर लिमिटेडलाई गाभ्ने (मर्ज) गर्ने भएको छ । मर्जको काम अघि बढाउन दुवै कम्पनीले मर्जर कमिटी बनाएका छन् ।
मर्जको काम सकिएपछि एनएचपीसीले साधारणसभा बोलाउने अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार सुनकोसीलाई मर्ज गरेपछि उसको सबै स्वामित्व एनएचपीसीमा आउनुका साथै साधारणसभा बोलाउने बाटो खुल्नेछ ।
एनएचपीसीले सुनकोसी हाइड्रोपावरमा गरेको लगानी रकममध्ये ६१ करोड ७२ लाख रुपैयाँ ‘राइट ब्याक’ भइसकेको छ । आउँदो साधारणसभामा सेयरधनीहरुलाई २० प्रतिशतसम्म बोनस सेयर दिने प्रस्ताव सभामा पेश हुँदैछ ।
विद्युत विकास विभागबाट एनएचपीसीले ४.५ मेगावाटको सुनकोसी आयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । एनएचपीसीले बढी रकम तिरेर प्रतिस्पर्धाबाट सो आयोजना पाएको हो । आयोजनाको लाइसेन्स लिन कम्पनीले वार्षिक ६ करोड २० लाख रुपैयाँ सरकारलाई बुझाउनु पर्ने छ ।
कम्पनीले २० प्रतिशतसम्म लाभांश दिन विषयमा गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्ट पारेको छ । कम्पनीले तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको लाइसेन्स खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरिएको हो ।
एनएचपीसीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्दै छ । कम्पनीले १४ मेगावाटको इर्खुवाखोला आयोजना बनाइरहेको छ । तल्लो इन्द्रावतीको काम करिब आधा सकिएको छ ।
आयोजना बनाउन कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) र लगानी जुटाउन बाँकी छ । लाइसेन्स पाउनसाथ यी सबै प्रक्रिया पूरा गर्ने भनाई कम्पनीको छ ।
यो पनि हेर्नुहोस्
एनएचपीसीले पायो तल्लो इन्द्रावतीको लाइसेन्स, २० प्रतिशत लाभांश सुनिश्चित