काठमाडौं । राजधानीको चोभारमा सुक्खा बन्दरगाह सञ्चालनका लागि योग्य भइसकेको छ । तर, यसलाई सञ्चालनमा कसरी ल्याउने भन्नेमा भन्सार विभाग अन्यौलमा परेको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले असारमा चोभारमा सुक्खा बन्दरगाहको पूर्वाधार निर्माणको काम सम्पन्न गरेको हो । बन्दरगाहाको काम सकिएको ६ महिना बितिसकेको छ । सञ्चालनका लागि पूर्वतयारीको काम भइरहेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । ‘ बन्दरगाहको पूर्वाधार त तयार भयो तर अहिले सञ्चालनमा चुनौती देखिएकाले केही ढिलाइ हुन गएको हो’ उनले भने ।
सीमा नाकाबाट भन्सार जाँचपास नगरी ढुवानीका साधन सीधै चोभारमा कसरी ल्याउने भन्ने विषयमा रामलक्ष्मण ग्रुपले अध्ययन गरिरहेको उनको भनाइ छ । यस्तै विभागले बन्दरगाह सञ्चालनका लागि कार्यविधिसमेत बनाइरहेको छ ।
वीरगन्ज, तातोपानी र रसुवागढीमा जाँचपास नभई छुटेका ढुवानीका साधनलाई सीधै चोभार ल्याउन भेहिकल ट्रयाकिङ, जीपीएस प्रविधि वा सिल गरेर मात्र ल्याउने भन्ने विषयमा छलफल चलिरहेको सूचना अधिकारी खड्काको भनाइ छ । चोभारस्थित सुक्खा बन्दरगाह अहिले सरकारले नै सञ्चालन गर्ने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
‘अहिले नै निजी क्षेत्रलाई सञ्चालन गर्न दिने अवस्था छैन । किनभने निजी क्षेत्रको ट्राफिक प्रक्षेपण गर्न गाह्रो छ’ उनले भने, ‘भोलि कति आम्दानी हुन्छ अनुमान गर्न वा भन्न अप्ठेरो नै छ । यत्ति हो कि, केही समय अझै लाग्छ ।
अहिले समितिबाट सञ्चालन गर्ने र सञ्चालन मोडालिटीमा स्पष्टता भएपछि मात्र निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिने निर्णय भएको गजुरेलले बताए ।
सीमा नाकाबाट सुरक्षित ढंगले कसरी सामान चोभारमा ल्याउने भन्ने विषयम कार्यविधि आवश्यक पर्ने भएकाले यसमा काम भइरहेको उनी बताउँछन् । बन्दरगाहमा भन्सारसँगै क्वारेन्टिन तथा सुरक्षा निकाय राख्नेजस्ता काम भइरहेका छन् । यस्तै भन्सार भवन, क्वारेन्टिन भवन, सुरक्षाकर्मीको भवनलगायतका संरचना पनि बनिसकेका छन् । सामान परीक्षण गर्ने ठाउँ, ५४ मिटर लम्बाइ र २४ मिटर चौडाइका दुइटा गोदाम निर्माणसमेत सम्पन्न भइसकेको छ ।
भन्सार जाँचपास नगरीकनै सीधै सुक्खा बन्दरगारमा आएर सबै काम गर्न सकिने गरी संरचना तयार भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप बन्दरगाहमा अत्याधुनिक संरचना तयार भएको कार्यकारी निर्देशक गजुरेलले बताए ।
बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ मा भएको सहमतिअनुसार २०१९ भित्रै काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना महामारी र निर्माण सामग्रीको उपलब्धतामा भएको कठिनाइलगायतका कारणले ढिला भएको हो ।
बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौं तथा आसपासमा भित्रिने मालबाहक सवारीसाधन सीमा नाकामा नरोकिई सीधै काठमाडौं आउन सक्नेछन् । बन्दरगाहमा ५०० ट्रक र त्यति नै संख्यामा कन्टेनर अट्नेछ ।
कुल २२० रोपनी क्षेत्रफलमा बन्दरगाह फैलिएको छ । बन्दरगाह तयार भए पनि त्यहाँ पुग्ने बाटो भने साँघुरो छ । यसको व्यवस्थापन नै मुख्य चुनौती रहेको छ । काठमाडौं तराई–मधेस द्रुतमार्ग निर्माण भएर सञ्चालनमा आएपछि मात्रै बन्दरगाह पूर्णरुपमा सञ्चालनमा आउन सक्ने छ ।
द्रुतमार्ग सञ्चालनमा आएपछि वीरगन्जबाट हिँडेको मालबहाक सवारी तीनदेखि चार घण्टामा चोभार आइपुग्छ । बागमतीमा निर्माण हुने पुलले बन्दरगाह र दु्रतमार्गलाई जोड्नेछ । यस्तै, रक्सौल–काठामाडौं रेलमार्गलाई पनि बन्दरगाहसँग जोड्ने सरकारको योजना छ ।
चीनबाट आउने भनिएको रेललाईसमेत चोभार लैजाने तयारी छ । पहिलो चरणको निर्माण सम्पन्न भएसँगै दोस्रो चरणको निर्माणका लागि पनि प्रशस्त ठाउँ रहन्छ । समितिले वीरगन्जमा सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको छ । यस्तै, रसुवाको टिमुरेमा २ अर्ब रुपैयाँको लागतमा सुक्खा बन्दरगाहको काम भइरहेको छ ।
यस्तै, समितिले ओलाङचुङगोला, मुगुको नाक्च्यालग्न र मुस्ताङको कोरलामा पनि भौतिक पूर्वाधार निर्माण गर्न योजना अघि सारेको छ ।
नेपाल चीनबीचको व्यापार सहजीकरण गर्ने लक्ष्यका साथ कोरलाको काम छिट्टै प्रक्रियामा लैजाने समितिको तयारी रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।
यो पनि हेर्नुहोस
चोभारमा यस्तो बन्यो सुक्खा बन्दरगाह, सञ्चालनका लागि तयार (फोटोफिचर)