साउदी अरब सरकारले ५ खर्ब डलरको लगानीमा फ्युचरिस्टिक मेगा सिटी निर्माण गरिरहेको छ । उक्त मेगा सिटीमा उड्ने कार, नक्कली चन्द्रमा र रोबट कर्मचारी हुनेछन् ।
साउदी अरबको कट्टर इस्लामिक रहनसहन, नीतिनियमविपरीत निओम नामक सहर जेट्सन स्टाइलको अत्याधुनिक महानगर हुनेछ ।
यो सहरको लागत ५ खर्ब डलर हुनेछ । यस्तै यसको निर्माण प्राइभेट इन्भेस्टमेन्ट फन्डलेले गरिरहेको छ ।
सहरका योजनाहरू महत्वाकांक्षी हुनेछन् । र, ती अहिलेसम्म कतै नदेखिएका पनि ।
अत्याधुनिक महानगर मिस्र र जोर्डनको सीमानजिक हुनेछ । यसले सन् २०२५ देखि आवास एवम् व्यवसायलाई सुचारु गर्नेछ । यसको निर्माण ‘शून्य’ बाट हुँदैछ । लन्डनभन्दा करिब १९ गुणा ठूलो हुने निओम सहर सौर्य र वायु ऊर्जाद्वारा सञ्चालित हुनेछ ।
निओमका चेयरपर्सन क्राउन प्रिन्स मोहम्मद बिन सलमानका अनुसार भविष्यमा ड्रोन र रोबोटिक्सको विकासको मुख्य केन्द्र हुनेछ । विवरणअनुसार अहिलेसम्म साइन्स फिल्ममा मात्रै हेरिँदै आइएका उड्ने ट्याक्सीहरु पनि सहरमा हुनेछन् ।
साउदी अरबले यो सहरमा प्रतिभाशाली र सर्वश्रेष्ठ व्यक्तिलाई आकर्षित गर्नेछ । यस्तै दुबई र दोहाको तुलनामा प्रमुख वाणिज्य केन्द्र पनि बनाउने इच्छा उसको छ । रोबट, नोकर, विदेशी कामदारले धनी आवासीयहरुको घर सरसफाइको काम गर्नेछन् । अर्थात् घरको काम कसले गर्ला भनेर चिन्ता लिनुपर्ने छैन ।
यसबाहेक क्लाउड सिडिंगको प्रयोग गरी वर्षा र बादल बन्नेछ जो अति सुक्खा (मरुभूमि) देशका लागि अत्यावश्यक छ ।
नक्कली चन्द्रमा
यो प्रक्रियाका लागि ड्रोन र प्लेनको प्रयोग गरिनेछ । साथै मनोरञ्जनका लागि डाइनोसर रोबट र मार्सल आर्ट रोबट पनि बनाइनेछ । यी दुई एकआपसमा लड्नेछन् ।
साउदीले प्रत्येक रात प्रकाश दिने एउटा विशाल कृत्रिम चन्द्रमा पनि हुनेछ ।
सुरक्षाको क्षेत्रमा पनि सहायक रोबट
साउदीले रियादमा सन् २०१७ मा फ्युचर इनिसिएटिभ सम्मेलनमा नियोम निर्माणको घोषणा गरेको थियो । कार्यक्रममा बोल्दै रोबोटिक्स फर्म बोस्टन डाइनामिक्सका सीईओ मार्क रायबर्टले मेसिनको प्रयोग सुरक्षाका लागि पनि गर्न सकिने बताएका थिए ।
रायबर्टका अनुसार सुरक्षा, होम डेलिभरी र वृद्धवृद्धाको रेखदेख गर्नेलगायतका अन्य क्षेत्रमा पनि सहायक सिद्ध हुन सक्छन् ।
–एजेन्सीको सहयोगमा ।