कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरुआत गरेको छ । सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख डा टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपन्छी तथा मत्स्य व्यवसायमा आबद्ध किसानको लगत सङ्कलनका लागि किसान सूचीकरण कार्यक्रम थालनी गरिएको जानकारी दिए ।
यसका लागि कावासोती नगरपालिकाले पहिलो चरणमा वडा नं ५ र १७ मा सहजकर्ता खटाएको समेत उनले बताए। सहजकर्ता नखटिएका क्षेत्रका किसानले आवश्यक कागजातसहित नगरपालिकाको कृषि तथा पशुपक्षी विकास शाखामा उपस्थित भएर किसान सूचीकरणको फाराम भर्न सकिने जनाइएको छ ।
यसैगरी किसान सूचीकरण व्यवस्थापन प्रणालीको वेबसाइट farmer.moald.gov.np मा गई आफ्नो विवरण प्रविष्ट गर्न सकिनेसमेत शाखा प्रमुख पौडेलले जानकारी दिए। किसान सूचीकरणका लागि आफ्नै व्यक्तिगत सम्पर्क नम्बर, नागरिकताको प्रतिलिपि, जग्गा पुर्जाको प्रतिलिपि र पासपोर्ट साइजको एकप्रति फोटो आवश्यक पर्ने छ ।
किसान सूचीकरणसँगै वर्गीकरण गरिने छ । सूचीकरण र वर्गीकरणपश्चात नगरपालिकाबाट किसानका लागि प्रदान गर्ने सुविधि पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने शाखा प्रमुख पौडेलले बताए। नगरसहित प्रदेश र सङ्घीयरूपमा समेत यही तथ्याङ्क प्रयोग हुने भएकाले ती क्षेत्रबाट प्राप्त गर्ने अनुदानसहित अन्य सुविधा प्रदान गर्ने क्रममा व्यवस्थित बनाउन किसान सूचीकरणले सहयोग पुर्याउने उनले बताए।
“किसान सूचीकरणपछि यही तथ्याङ्क तीनै तहका सुविधा प्रदान गर्न प्रयोग हुन्छ, यसले प्रदान गरिने अनुदार र अन्य सुविधालाई पारदर्शी र थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास छ”, शाखा प्रमुख डा. पौडेलले भने ।
सरकारले किसानलाई पेन्सनको कुरासमेत उठाउने गरेको छ । अहिले गरिएको सूचीकरणले सो कार्यक्रमका लागि समेत सहयोग पुग्ने उनले बताए । कावासोती नगरपालिकामा हाल दुईवटा वडालाई प्राथमिकता दिएर सहजकर्ता खटाइएको भए पनि क्रमशः नगरपालिकाभित्रका सबै वडाबाट कोही पनि किसान सूचीकरणमा नछुट्ने गरी कार्य गरिने उहाँले जानकारी दिए । नगरपालिकाले किसानलाई प्राथमिकताका साथ सूचीकरण गराउनसमेत अनुरोध गरेको छ । रासस