काठमाडौं । पाँच कारोबार दिनमा निरन्तर बढिरहेको सेयर बजार छैठौं दिनमा आएर ओर्लिएको छ । यद्यपि पाँचौ दिन मंगलबार पनि बजार ओर्लिने कोसिस गरेको थियो । मंगलबार ओर्लिने कोसिस गरेर २५९३ अंकमा झरेको बजार सूचक अन्तिम समयमा सोमबारको तुलनामा ६३ अंकले बढेर २६७९.९५ मा रोकिएको थियो ।
बुधबार पनि बजार खुल्नेबित्तिकै बढ्ने कोसिस गरेकोमा धेरैजसो समय घट्नलाई दबाब परेको छ । यद्यपि कारोबार सुरु भएको आधा घण्टामा सूचक २७ अंक छोएको थियो । त्यसपछि घट्ने र बढ्ने क्रमलाई घट्दो प्रवृत्तिले जितेको छ ।
अन्तिम समयमा २६४२ अंकसम्म झरेको सूचक मंगलबारको तुलनामा ३०.७५ अंकले घटेर २६४९.२ अंकमा रोकिएको छ । बुधबारको नेप्से प्रवृत्ति र कारोबार चापलाई हेर्दा बिहीबार सुरुमा बजार केही बढ्ने संकेत गरे पनि त्यसले निरन्तरता पाउने संभावना कम छ ।
खासगरी आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम साता भएको र यो बेला सरकारलाई कर तिर्नुपर्ने दबाब, बजारमा अझै तरलता अभावको स्थिति, सूचीकृत कम्पनीहरूको साधारणसभाको चटारो र धेरै कम्पनीहरूको मूल्य समायोजनको असरले सूचक घट्न दबाब पर्ने छ ।
आगामी साताको अन्तिम दिनतिर बजार केही सकारात्मक भने हुन सक्छ । पछिल्लो १५ कारोबार दिनमा न्यूनतम २२५९ बिन्दुबाट बढ्न थालेको बजार १६ औं दिन बुधबार २७०० अंक छोएर फर्किएको छ । यसरी हेर्दा यसबीचमा ४४१ अंकको वृद्धि देखिन्छ ।
न्यूनतम बिन्दुबाट धेरैजसो कम्पनीहरूको सेयर मूल्य १० देखि २० प्रतिशतसम्मको मूल्य अभिवृद्धि गरेको पाइन्छ । जसलाई लगानीकर्ताले बिहीबार र आगामी साताको २/३ दिन पर्याप्त नाफा बुक गर्ने रणनीति अंगाल्न सक्छन् । त्यसले बजारलाई नकरात्मक बनाउने प्रवल संभावना छ ।
यो साताको ४ दिन नै कारोबार रकम करिब समान देखिन्छ । साताभर ४ दिनमा ४ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुँदा बुधबार ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन यो ४ दिनकै उच्च कारोबार हो । बुधबार नेप्से सूचक घटाउन १३४ कम्पनीहरूले भूमिका खेलेका छन् ।
सबैभन्दा बढी विजय लघुवित्तको सेयर मूल्य ४.५५ प्रतिशतले घटेको छ । उता घटेको बजारमा पनि ५२ कम्पनीहरूले मूल्यअभिवृद्धि गरेका छन् ।
सबैभन्दा धेरै मूल्य वृद्धि गत सातादेखि कारोबारमा आएको मध्य भोटेकोसी जलविद्युतको ९.९६ प्रतिशतले बढेको छ भने छ्यान्दी हाइड्रोपावरको ५.४९ प्रतिशतले मूल्य बढेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै १८ करोड ७२ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।