काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) लाई विद्युतीय ट्रान्सफर्मर आपूर्तिको जिम्मा दिएको खुलेको छ ।
ग्लोबल टेन्डरमा सहभागी हुँदा निकले सबैभन्दा बढी मूल्य प्रस्ताव गरेको थियो । तर, महँगो प्रस्ताव पेस गर्ने निकसँग ट्रान्सफर्मर खरिद गरेको प्राधिकरण स्रोतले बताएको छ । प्राधिकरणले मूल्यका आधारमा पाँचौं नम्बरमा परेको निक लुम्बिनी जेभीलाई ट्रान्सफर्मर आपूर्तिको जिम्मा दिएको हो ।
प्राधिकरण स्रोतका अनुसार चिनियाँ कम्पनी जोङसाङ युएन ग्वाङ इलेक्ट्रिक कम्पनीले ९५ लाख ४९ हजार ८५२ डलर मूल्य प्रस्ताव गरेको थियो । त्यसैगरी, निङ्बो अक्साईले ९९ लाख ७० हजार डलर मूल्य प्रस्ताव गरेको छ । यस्तै फराडी इलेक्ट्रिक कर्पोरेसन १ करोड ७ लाख ८९ हजार ६०० डलर मूल्य प्रस्ताव गरेको थियो । चीनकै डोङफाङ इलेक्ट्रिक १ करोड १९ लाख ११ हजार ११० डलर मूल्य प्रस्ताव गरेको थियो । त्यसैगरी पाँचौ नम्बरमा निक लुम्बिनी जेभीले १ करोड २१ लाख ६१ हजार ५३८ डलरमा ट्रान्सफर्मर आपूर्तिको प्रस्ताव गरेको थियो ।
निकले जोङसाङको भन्दा २६ लाख ११ हजार ६८६ डलर बढी मूल्य प्रस्ताव गरेको छ । तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित खरिद विभागका प्रमुख विजयसेन खड्काको मिलेमतोमा निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीको कम्पनी निकलाई ट्रान्सफर्मर आपूर्तिको जिम्मा दिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
स्रोतका अनुसार निकले चिनियाँ कम्पनी जोङसाङको भन्दा २७.३५ प्रतिशत बढी मूल्य प्रस्ताव गरे पनि उही महँगो कम्पनीलाई आपूर्तिको जिम्मा दिइएको हो । अहिले प्राधिकरणले ट्रान्सफर्मर नभएको कारण देखाएर बिजुली गइरहेको दाबी गरेको छ । प्राधिकरण व्यवस्थापनले निकसँग सेटिङ मिलाएर अत्यधिक महँगो मूल्य ट्रान्सफर्मर खरिद गर्न लागिएको ती अधिकारीको दाबी छ । सरकारलाई ठूलो आर्थिक भार पार्ने गरी प्राधिकरण व्यवस्थापनले महँगो मूल्य प्रस्ताव गर्ने कम्पनीलाई प्राधिकरणले असोज ६ गते ठेक्का दिएको हो । ठूलो धनराशी खर्चिएर २६ सय ट्रान्सफर्मर खरिद गर्न लागिएको छ ।
२६ सय वितरण ट्रान्सफर्मर आपूर्ति तथा ढुवानीका लागि २०७५ असार ४ गते पहिलोपटक ठेक्का आह्वान गरेको थियो । टेन्डरमा ७ वटा कम्पनीले सहभागिता जनाएका थिए । तर, प्राधिकरणले चौथो नम्बरका कम्पनीलाई छाडेर पाँचौ कम्पनीलाई ट्रान्सफर्मरको ठेक्का दिएको हो ।
यसबारे थप बुझ्न प्राधिकरणका खरिद महशाखा प्रमुख खड्कालाई पटकपटक फोन गर्दा उनले उठाएनन् ।