काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) पुरानै स्वास्थ्य संस्थाबाट गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ ।
श्रम मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि मलेसिया सरकारलाई १ सय २२ ओटा स्वास्थ्य संस्थाको विवरण पठाइरहेका बेला परराष्ट्रले श्रम मन्त्रालयलाई त्यस किसिमको पत्र पठाएको हो ।
परराष्ट्र मन्त्रालयलाई भदौ १० गते राजदूतावासले पुरानै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिन भन्दै पत्र पठाएको थियो । दूतावासले पठाएको जानकारी तथा आवश्यक कार्यार्थसहितको पत्र बुधबार श्रम मन्त्रालयलाई पठाएको छ ।
दूतावासले पठाएको पत्रमा मलेसिया सरकारले कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी कार्य गर्न ३७ ओटा स्वास्थ्य संस्थालाई छनोट गरेका कारण तत्काल नयाँलाई दिन नसक्ने बताएको छ ।
मलेसियन कम्पनी बेस्टिनेट एसडीएन बीएडीलाई सबै कामदार आपूर्ति गर्ने स्रोत राष्ट्रमा बायोमेट्रिक लागू गर्न मलेसिया सरकारले अधिकार प्रदान गरेको थियो । सो संस्थाले नेपालका तर्फबाट ३७ ओटा स्वास्थ्य संस्था सूचीकृत गरेको उल्लेख छ ।
मलेसियामा रोजगारीका निम्ति जाने कामदारको बायोमेट्रिकमार्फत स्वास्थ्य परीक्षण गर्ने कुनै स्वास्थ्य संस्था थप गर्ने सम्बन्धमा त्यस्तो स्वास्थ्य संस्थाले मलेसिया सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरिरहे भविष्यमा आवश्यकताअनुसार थप गर्ने उल्लेख गरेको छ ।
श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारहरुलाई ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी र माइग्राम्सलाई खारेजी गर्ने भन्दै २०७५ जेठ ३ गतेबाट कामदार पठाउन रोक लगाएका छन् । तर मलेसिया सरकारले भने तत्काल कुनै पनि संस्थालाई खारेज गर्न नसक्ने जवाफ दिएको छ ।
श्रममन्त्री विष्टले अन्तिममा स्वास्थ्य परीक्षणको सिन्डिकेट तोड्न सफल भएको प्रतिक्रिया दिए पनि मलेसिया सरकारले भने बायोमेट्रिकको जिम्मेवारी पाएका ३७ ओटै संस्थालाई कायम गर्न भन्दै दूतावासमार्फत पत्र पठाएको हो ।
श्रम मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्न मलेसियाबाट प्रतिनिधिहरु आउने बताएका थिए । तर मलेसियाका कुनै पनि प्रतिनिधिहरु नआएपछि नेपालले मात्र अनुगमन गरी स्वास्थ्य संस्था छनोट गरेको थियो ।